काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ यतिबेला सामाजिक सञ्जालमा अत्यधिक चर्चामा आएको छ। विशेषगरी टिकटकमा गीत भाइरल बनेको छ भने युट्युबमा पनि उल्लेखनीय भ्यूज प्राप्त गरेको छ।
दुई साताअघि सार्वजनिक गरिएको यस गीतमाथि टिकटकमा झण्डै ४ लाख भिडियो बनिसकेका छन्। साथै, फेसबुक र इन्स्टाग्रामका रिल्समा पनि दर्शकहरूले व्यापक रूपमा भिडियो निर्माण गरेका छन्, जसले गीतको लोकप्रियता अझ बढाएको छ।
लोकभाकामा आधारित यस गीतले युट्युबमा १३ दिनमै ५० लाखभन्दा बढी भ्यूज पार गरेको छ। गीतको भाका, प्रस्तुति र कोरियोग्राफीलाई दर्शकहरूले निकै रुचाएका छन्। गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको नृत्य विशेष आकर्षण बनेको छ। उनीहरूको प्रदर्शनलाई दर्शकहरूले खुलेर प्रशंसा गरेका छन्।
गीतलाई थप लोकप्रिय बनाउन फिल्म टिमले विभिन्न कलाकारसँग सहकार्य गरिरहेको छ। वर्षा राउत र तेरिया फौजा मगरसँग स्वस्तिमाले गरेको नृत्य भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ, जसले दर्शकको ध्यान थप तानेको छ।
आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’मा स्वस्तिमा र समाइरासहित रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्देशन यम थापाले गरेका हुन् भने कथा, पटकथा र संवादमा पनि उनको संलग्नता रहेको छ।
गीतको सफलतासँगै फिल्मप्रति दर्शकको उत्साह बढेको देखिएको छ।