काठमाडौं । १२ वर्षअघि एसियन गेम्समै बेहोरेको हारको हिसाब नेपालले यसपटक चुक्ता गरेको छ। एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको हो।
जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै नेपालको क्वाटरफाइनल यात्रा लगभग निश्चित भएको छ। सन् २०१४ को इन्चोन एसियन गेम्समा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो। त्यतिबेला अफगानिस्तानले दिएको १२० रनको लक्ष्य पछ्याएको नेपाल १११ रनमै रोकिएको थियो। १२ वर्षपछि एसियन गेम्सकै मञ्चमा भएको पुनः भेटमा भने नेपालले पुरानो हारको बदला लिन सफल भयो।
खेलमा टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेको थियो। तर नेपाली स्पिनरहरू सुरुदेखि नै हावी बनेपछि अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। ललित राजवंशीले पनि ३ विकेट लिएपछि अफगानिस्तानको ब्याटिङ लाइनअप दबाबमा परेको थियो। अफगानिस्तानका फैसल शिनोजादेले ३३ तथा नजिबुल्लाह जाद्रानले ३० रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
ललितले पहिलो ओभरमै हसन ऐसाखिललाई बोल्ड गर्दै नेपाललाई सुरुआती सफलता दिलाएका थिए। त्यसपछि मोहम्मद अकरम र करिम जनतलाई आउट गर्दै उनले अफगानिस्तानलाई १६ रनमै ३ विकेटको अवस्थामा पुर्याए। त्यसपछि बलिङमा आएका कुशल भुर्तेलले सेट भएर खेलिरहेका फैसल शिनोजादेको विकेट लिए। भुर्तेलले १५औँ ओभरमा मोहम्मद इशक र डार्विश रसूलीलाई लगातार आउट गरे भने १७औँ ओभरमा नजिबुल्लाह जाद्रानलाई आउट गर्दै आफ्नो चार विकेट पूरा गरे।
१०३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो हुन सकेन। कुशल भुर्तेल खाता नखोल्दै आउट भए भने आसिफ शेखले २ रन मात्रै बनाए। त्यसपछि सन्दीप जोराले इनिङ्स सम्हाल्दै ३४ रन बनाए। उनी आउट हुँदा नेपाल १० ओभरमा ५६ रन बनाएर ४ विकेट गुमाइसकेको अवस्थामा थियो।
त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै नेपाललाई जिततर्फ अघि बढाए। दुईबीच ४६ रनको साझेदारी भएपछि नेपालको जित सहज बनेको थियो। दीपेन्द्रले १५ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे।
अन्ततः नेपालले १७.२ ओभरमा लक्ष्य पूरा गर्दै अफगानिस्तानमाथि ५ विकेटको शानदार जित निकाल्यो। यो जितसँगै नेपालको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। समूह चरणको अन्तिम खेल नेपालले शनिबार जापानसँग खेल्नेछ। जापानलाई पराजित गर्न सके नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्नेछ। जापानसँग पराजित भए पनि ठूलो अन्तरको हार नभएमा नेपाल समूह उपविजेताका रूपमा अन्तिम आठमा पुग्ने सम्भावना रहेको छ।
नेपालका खेलाडीहरूले भने प्रतियोगितामा पदक जित्ने लक्ष्य कायमै रहेको बताएका छन्। अफगानिस्तानविरुद्धको जितले नेपाली टोलीको आत्मविश्वास थप बढाएको छ। १२ वर्षअघि यही प्रतियोगितामा टुटेको पदक यात्राको सम्झना बोकेको नेपाल यसपटक भने नयाँ इतिहास बनाउने लक्ष्यमा अघि बढेको छ।