काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री मल्लले यसअघि तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको बजेटकै आकारमा नयाँ बजेट प्रस्तुत गरेका हुन्। तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको थियो।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १० अर्ब २४ करोड रुपैयाँ र संघीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, अघिल्लो आर्थिक वर्षबाट बचत हुने रकमबाट नौ अर्ब ३५ करोड रुपैयाँ तथा संघीय सशर्त अनुदानबाट छ अर्ब तीन करोड रुपैयाँ जुटाउने अनुमान गरिएको छ।
यसैगरी, संघीय समपूरक अनुदानबाट ३८ करोड रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।
एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेपछि प्रदेश सरकारले नयाँ बजेट ल्याएको हो। बजेट प्रस्तुत भएसँगै लामो समयदेखि रोकिएको प्रदेशको वार्षिक बजेट प्रक्रिया अघि बढेको छ। अब बजेट कार्यान्वयनमार्फत प्रदेशको विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र आर्थिक गतिविधिमा कस्तो प्रभाव पर्छ भन्ने चासो बढेको छ।