काठमाडौं । आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ। उत्पत्तिका एकादशीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण पक्षले चार मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु, परिवेश र मुख्य द्वन्द्वलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। ट्रेलरको सुरुवात विजय बराल र अञ्जना बराइलीबीचको प्रेम सम्बन्धबाट हुन्छ। अञ्जनासँग विवाह गर्ने तयारीमा रहेका विजय घोडा चढ्न सिक्नेदेखि आफ्नो हाउभाउ सुधार्नेसम्मका अभ्यास गरिरहेको देखिन्छन्। अन्ततः उनीहरूको विवाहसमेत हुन्छ।
तर, कथा त्यतिमै सीमित रहँदैन। कौडाको खेल सुरु भएसँगै विजयको पारिवारिक जीवनमा उथलपुथल आएको संकेत ट्रेलरले गर्छ। सुरुमा विजयकी श्रीमतीका रूपमा देखिएकी अञ्जना पछि विनोद न्यौपानेसँग विवाह गरेको दृश्यमा देखिन्छिन्। यसले अञ्जनाको वास्तविक वैवाहिक सम्बन्ध र फिल्मको कथामा आउने उतारचढावबारे दर्शकमाझ कौतूहल सिर्जना गरेको छ।
ट्रेलरमा फिल्मलाई ‘भाग्य र नियतिबीचको खेल’का रूपमा चित्रण गरिएको छ। प्रेम, विवाह, पारिवारिक सम्बन्ध र भाग्यको खेललाई मुख्य विषय बनाइएको फिल्मले दर्शकलाई कस्तो कथा पस्किन्छ भन्ने चासो बढाएको छ।
‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्ममा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा छन्। उनीहरूका अतिरिक्त रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, उषा खड्गी, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ।
निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्। फिल्मका निर्माता नेम महर्जन हुन् भने कार्यकारी निर्मातामा दिनेश खड्का तथा सहनिर्मातामा राकेश खड्का र श्याम मगर छन्।
फिल्ममा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना ९गुरुआमा०को कोरियोग्राफी र सुप्रिम पराजुलीको रंग संयोजन रहेको छ।
‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ।