काठमाडौं । तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार असोज ११ गतेसम्म फिल्मले ७ करोड १ लाख ४१ हजार ४०३ रुपैयाँ ग्रस कमाइ गरेको छ। सो अवधिसम्म ‘पेन्सन पट्टा’का २ लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन्। यससँगै ‘पेन्सन पट्टा’ यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्ममध्ये तेस्रो स्थानमा पुगेको छ। यसअघि ‘गौँथली’ र ‘लालीबजार’ले ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेका छन्।
फिल्मको पछिल्लो व्यापारिक रफ्तारलाई हेर्दा ‘पेन्सन पट्टा’ले ‘लालीबजार’को करिब ९ करोड रुपैयाँको आँकडा यही साता पार गर्न सक्ने देखिएको छ। ‘पेन्सन पट्टा’सँगै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’को व्यापार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ। ओपनिङमा ‘पेन्सन पट्टालाई उछिनेको ‘बेहुली’ले असोज ११ गतेसम्म २ करोड ९६ लाख ३६ हजार ३९४ रुपैयाँ ग्रस कमाएको छ। फिल्मका १ लाख ५ हजार ३३८ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, भदौ १२ गतेबाट प्रदर्शनमा आएको ‘पार्वती’ले २ करोड २८ लाख ५५ हजार ७३ रुपैयाँ ग्रस कमाउँदा ८१ हजार ३९७ वटा टिकट बिक्री भएका छन्। कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ अर्थात् ‘तिनीहरू’ले ३५ हजार ३३७ वटा टिकट बिक्रीबाट १ करोड २५ लाख १३० रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ।
असोज २ गते एकसाथ प्रदर्शनमा आएका ‘झिँगेदाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो’को कमाइ पनि बोर्डले सार्वजनिक गरेको छ। ‘झिँगेदाउ २’ले १ करोड ३४ लाख ८३ हजार ९२१ रुपैयाँ, ‘कार्की साइँला’ले ५ लाख ७८ हजार ६६० रुपैयाँ र ‘माया बस्छ कि के हो’ले २३ हजार ६६० रुपैयाँ ग्रस कमाएका छन्।
यता, गत साउन १ गतेदेखि प्रदर्शनमा रहेको ‘गौँथली’ भने बक्स अफिसमा अझै अगाडि छ। असोज ११ गतेसम्म फिल्मले २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कमाइसकेको छ। फिल्मका ९ लाख ४१ हजार ३७२ वटा टिकट बिक्री भएका छन्।
चलचित्र विकास बोर्डको विवरणअनुसार ‘गौँथली’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको कीर्तिमानसहित यस वर्षको सर्वाधिक कमाउने फिल्म बनेको छ।