काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखराले दिएको १३३ रनको लक्ष्य १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स विराटनगरका कप्तान सन्दीपको घातक बलिङसामु टिक्न सकेन। ओपनर युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा पोखरा १७.५ ओभरमा १३२ रनमै समेटियो।
सम्राले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। धनन्जय लक्षणले २२ तथा सन्नी विकले १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। यससँगै उनी एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन्।
यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पनि एनपीएलमा ह्याट्रिक गरेका थिए।
१३३ रनको लक्ष्य पछ्याएको विराटनगरको सुरुवात भने सहज रहेन। ओपनर इमरान शेख १० र एन्जेलो म्याथ्युज ८ रनमा आउट भए। चरिथ असलंका र प्रतिश जिसीले पनि खाता खोल्न सकेनन्।
तर बसिर अहमद र लोकेश बमले इनिङ्स सम्हाल्दै टोलीलाई जिततर्फ अघि बढाए। बसिरले ३९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए भने लोकेशले २७ बलमा समान २ चौका र २ छक्काको मद्दतमा ३३ रन जोडे।
त्यसपछि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका इसुरु उडानाले आक्रामक प्रदर्शन गरे। उनले १२ बलमा ४ चौका र १ छक्कासहित अविजित २५ रन बनाए। शेहान जयासूर्याले पनि अविजित १७ रनको योगदान दिए। उडानाले विजयी चौका प्रहार गर्दै विराटनगरलाई जित दिलाए।
बलिङतर्फ पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले समान २ विकेट लिए भने बिपिन खत्री र धनन्जय लक्षणले १-१ विकेट हात पारे।
यस जितसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोडेको छ। तीन जित र तीन हार बेहोरेको विराटनगर अंकतालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफ सम्भावना कायम राख्न सफल भएको छ। विराटनगरले अब लुम्बिनी लायन्ससँग लिग चरणको अन्तिम खेल खेल्नेछ।
यता, पोखरा भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। ६ खेलमध्ये पाँचमा हार र एकमा जित बेहोरेको पोखरा २ अंकसहित अंकतालिकाको पुछारमा छ। अब बाँकी खेलको नतिजाले पनि पोखराको प्लेअफ यात्रा फर्काउन सक्ने छैन।
व्यक्तिगत रूपमा सन्दीपका लागि पनि यो प्रदर्शन विशेष रह्यो। यसअघिका पाँच खेलमा एक विकेट मात्रै लिएका उनले एउटै खेलमा ६ विकेट लिएर विराटनगरको जितमा निर्णायक भूमिका निर्वाह गरे।