काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या बढेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा चालकसहित २० जना सवार थिए। बिहीबार बिहान करिब ६ बजेर १० मिनेटमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेको थियो।
दुर्घटनामा यसअघि ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो। खोज तथा उद्धारका क्रममा थप तीन जनाको शव फेला परेको हो। पछिल्लो पटक भेटिएका तीन जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका रहेका छन्। मृतकमा २५र२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।
त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका-८ का ३० वर्षीय ईभी चालक रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूमध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने अन्य तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।
डिस्चार्ज हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्। चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
एउटै दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि भीमफेदी क्षेत्र शोकमा डुबेको छ। उद्धार तथा खोजी कार्यपछि दुर्घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ।