काठमाडौं । नेपाली अभिनेता अनुप विक्रम शाही अभिनीत बलिउड फिल्म ‘मातृभूमि’ नेपालमा प्रदर्शन नहुने सम्भावना बढेको छ। भारत र चीनबीचको सीमा विवादलाई मुख्य कथावस्तु बनाइएको फिल्मलाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिने सम्भावना देखिएको हो।
बालेन शाह नेतृत्वको सरकार बनेसँगै विदेशी फिल्मको प्रदर्शन अनुमति र त्यसमा समावेश संवेदनशील विषयवस्तुमाथि कडाइ गरिएको चर्चा भइरहेका बेला ‘मातृभूमि’लाई लिएर चासो बढेको छ। यसअघि पाकिस्तानलाई नकारात्मक रूपमा चित्रण गरिएको भारतीय फिल्म ‘उड्ता तीर’ले नेपालमा प्रदर्शन अनुमति पाएको थिएन।
अब अनुप विक्रम शाहीको अभिनय रहेको ‘मातृभूमि’ पनि त्यस्तै परिस्थितिमा पर्न सक्ने देखिएको छ। सन् २०२० मा भारतको लद्दाखस्थित गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपलाई फिल्मको मुख्य विषय बनाइएको छ। मंगलबार सार्वजनिक ट्रेलरले पनि फिल्मको कथावस्तु चीन-भारत सैन्य द्वन्द्वमा केन्द्रित रहेको देखाएको छ।
डिसेम्बर ४ अर्थात् मंसिर १८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई लिएर चीनले लामो समयदेखि आपत्ति जनाउँदै आएको छ। यही विवादका कारण फिल्मको प्रदर्शनसमेत ढिलाइ भएको थियो। भारतीय रक्षा मन्त्रालयले केही दृश्य परिवर्तन गर्न निर्देशन दिएपछि पुनः छायांकन गरिएको र त्यसपछि मात्रै फिल्मले प्रदर्शनका लागि आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) पाएको बताइएको छ।
नेपालमा भने निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा (९३) का कारण फिल्मको प्रदर्शन अन्योलमा पर्न सक्ने देखिन्छ। उक्त कानुनी व्यवस्थाअनुसार मित्रराष्ट्रसँगको सुसम्बन्धमा प्रतिकूल असर पार्ने किसिमका चलचित्रलाई प्रदर्शन अनुमति नदिन सकिने प्रावधान छ। ‘मातृभूमि’को कथावस्तुमा यही व्यवस्था आकर्षित हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि, फिल्म नेपालमा प्रदर्शन हुने वा नहुनेबारे चलचित्र जाँच समितिले औपचारिक निर्णय गरिसकेको छैन। सामाजिक सञ्जालमा भने फिल्म नेपालमा प्रदर्शन हुनुपर्ने आवाज उठ्न थालेको छ। विशेषगरी नेपाली कलाकार अनुप विक्रम शाहीले बलिउडका चर्चित अभिनेता सलमान खानसँग अभिनय गरेको फिल्म नेपाली दर्शकले पनि हेर्न पाउनुपर्ने उनीहरूको तर्क छ।
अपूर्व लखियाको निर्देशनमा बनेको फिल्ममा अनुपले चिनियाँ जनमुक्ति सेनाका मेजरको भूमिका निर्वाह गरेका छन्। सार्वजनिक ट्रेलरमा उनलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। एउटा दृश्यमा उनी सलमान खानसँग प्रत्यक्ष भिडन्त गरिरहेको देखिन्छ। ट्रेलरमा अनुपले पाएको स्थानले फिल्ममा उनको भूमिका महत्त्वपूर्ण रहेको संकेत गर्छ।
अब प्रश्न उठेको छ—नेपाली कलाकारको प्रभावशाली भूमिका रहेको बलिउड फिल्म ‘मातृभूमि’ले नेपालमा प्रदर्शन अनुमति पाउँछ कि मित्रराष्ट्रसँगको सम्बन्धको कानुनी प्रावधान देखाउँदै प्रतिबन्ध लगाइन्छरु यसको निर्णय चलचित्र जाँच समितिको हातमा छ।