काठमाडौं । हास्य कलाकार सुमन कोइराला अर्थात् ‘दले दाइ’ अब ठूलो पर्दामा देखिने भएका छन्। उनको डेब्यू अभिनय रहेको फिल्म ‘तिरिमिरी झ्याइँ’ आगामी माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
लक्ष्मी पूजाको अवसर पारेर आइतबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको हो। सरस्वती पूजाको सार्वजनिक बिदालाई लक्षित गरी फिल्म प्रदर्शन गर्न लागिएको छ।
सार्वजनिक पोस्टरमा सुमन कोइरालासहित आभास अधिकारी, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन्। जेलको फलामे बारभित्र कैद कलाकारहरूको हाउभाउ र प्रस्तुतिले फिल्म हास्यप्रधान रहेको संकेत गर्छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्।
समीरको निर्देशनमा बनेको फिल्ममा धिरेन शाक्य, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको पनि अभिनय रहेको छ। फिल्मको कथा तथा अवधारणा आभास अधिकारीको हो भने पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले तयार पारेका हुन्।
होराइजन मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रद्युम्न बोगटी (प्रवीन) हुन्। आभास अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा भूपेन्द्र सिटौला, शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा छन्।
फिल्ममा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। ‘दले दाइ’का रूपमा दर्शकमाझ लोकप्रिय सुमन कोइरालाको पहिलो फिल्म भएकाले पनि ‘तिरिमिरी झ्याइँ’लाई दर्शकले कसरी लिनेछन् भन्ने चासो बढेको छ।