काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की प्रस्थान गर्ने भएका छन् ।
टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, नोभेम्बर ११ र १२ मा आयोजना हुने राष्ट्र तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनमा समेत उनले सहभागिता जनाउनेछन् ।
सम्मेलनका क्रममा नेपालले हिमाल, हिमनदी तथा जलवायु परिवर्तनका कारण बढिरहेका जोखिमका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यसैक्रममा नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘पर्वतीय कार्यसूचीको प्रवर्द्धन स् हिमनदी, हिमक्षेत्र र जलवायु उत्थानशीलता’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि मन्त्री खनाल सहभागी हुनेछन् ।
त्यसका अतिरिक्त उनले सम्मेलनका विभिन्न साइड इभेन्टमा सहभागिता जनाउनुका साथै विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा।डा। सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।