काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयलाई लिएर राजनीतिक मतभेद सतहमा देखिएको छ । सरकारको निर्णयमाथि रविले प्रश्न उठाएलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले दुई नेताबीचको दूरी थप स्पष्ट पारेको छ ।
प्रधानमन्त्री शाहले बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको टिप्पणी गरेका छन् । उनले आफ्नो अभिव्यक्तिमा कार्यकर्ता र नेताहरूको भूमिकालाई समेत तुलना गरेका छन् ।
‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् । त्यसपछि उनले थपेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’
प्रधानमन्त्रीको यो अभिव्यक्ति रास्वपा सभापति लामिछानेप्रति लक्षित रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । यद्यपि, प्रधानमन्त्रीले आफ्नो स्टाटसमा कसैको नाम भने उल्लेख गरेका छैनन् ।
विवादको पृष्ठभूमि भने सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेपछि सुरु भएको हो । उक्त निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने भन्दै रास्वपा सभापति लामिछानेले प्रश्न उठाएका थिए । उनले सरकारको निर्णयमाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि रास्वपाका अन्य नेताहरूले पनि सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका थिए ।
रास्वपाका नेताहरूले आईजीपी हटाउनेजस्तो संवेदनशील निर्णय गर्नुअघि पार्टीसँग कुनै छलफल नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूको प्रश्न सरकारको निर्णय प्रक्रियामाथि केन्द्रित थियो ।
यही घटनाक्रमबीच प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएपछि सरकार र रास्वपाबीचको सम्बन्धलाई लिएर नयाँ बहस सुरु भएको छ ।
सरकारको नेतृत्व गरिरहेको राजनीतिक शक्तिकै सभापतिले सरकारको निर्णयमाथि प्रश्न उठाउनु र प्रधानमन्त्रीले त्यसको जवाफमा पार्टी र देशप्रतिको जिम्मेवारीलाई अलग्याएर टिप्पणी गर्नुले सत्ता सञ्चालनभित्रको समन्वय र राजनीतिक सम्बन्धमाथि प्रश्न खडा गरेको छ ।
अब प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि रास्वपा सभापति लामिछानेको प्रतिक्रिया के आउँछ र सरकार-पार्टीबीचको असमझदारी कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।