काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु, परिवेश र पात्रहरूको सम्बन्धबारे संकेत गरेको छ। ३०-४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिने फिल्ममा प्रेम, पारिवारिक असहमति र वियोगलाई मुख्य विषय बनाइएको छ।
ट्रेलरमा अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा मुख्य रूपमा देखिएका छन्। फिल्ममा अनमोलले काजी नामको पात्र निर्वाह गरेका छन्। गाउँमा पढाउने काम गर्ने क्रममा उनको प्रिन्सीसँग प्रेम सम्बन्ध स्थापित हुन्छ। तर, उनीहरूको प्रेममा अनमोलको परिवार बाधक बनेपछि कथाले नयाँ मोड लिन्छ।
परिवारको असहमतिबीच उनीहरूको प्रेमले पूर्णता पाउँछ वा पाउँदैन भन्ने कौतूहल ट्रेलरले दर्शकमाझ छाडेको छ।
ट्रेलरमा अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तलाई पनि देख्न सकिन्छ। उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सी प्रस्तुत भएका छन्। फिल्ममा बुबाको भूमिकामा देखिन अनमोलले जुँगा पालेको दृश्यले पनि दर्शकको ध्यान खिच्न सक्छ।
समग्रमा ट्रेलरले पुरानो समयको प्रेमकथाको झल्को दिएको छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको फिल्मले जेन एक्स र जेन वाई पुस्तालाई पुराना दिनको सम्झना गराउने अपेक्षा गरिएको छ।
भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायत कलाकारको अभिनय छ।
सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। प्रेम र वियोगको कथालाई पर्दामा उतारिएको ‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि दर्शकमाझ आउनेछ।