काठमाडौं । विवादमा तानिएको नेपाली फिल्म ‘पाँच पाण्डव’ले अन्ततः प्रदर्शनका लागि अनुमति पाएको छ। फिल्मको पोस्टर र गीतमा प्रस्तुत गरिएको दृश्यलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेका बेला केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भने कुनै दृश्यमा रोक नलगाई प्रदर्शन अनुमति दिएको हो।
महाभारतका पात्रलाई विम्ब बनाएर निर्माण गरिएको फिल्म ‘पाँच पाण्डव’ आगामी शुक्रबार अर्थात् कात्तिक २० गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। तर, प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मको विषयवस्तु र विशेषगरी अभिनेत्री इभा गिरीको प्रस्तुतिलाई लिएर विवाद चर्किएको थियो।
फिल्मको पोस्टरमा द्रौपदीको रूपमा प्रस्तुत गरिएकी इभालाई ‘राजा चाहिया छ’ बोलको गीतमा बोल्ड अवतारमा देखाइएको छ। महाभारतकी महत्वपूर्ण पात्र द्रौपदीसँग जोडेर यस्तो प्रस्तुति दिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। यही विवादका बीच फिल्मको प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरीसमेत परेको थियो।
तर, विवाद र उजुरीका बाबजुद सेन्सर बोर्डले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। बोर्डको अनुमतिसँगै फिल्मको प्रदर्शनमा देखिएको कानुनी अवरोध तत्कालका लागि हटेको छ।
सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएपछि निर्देशक वसन्त निरौलाले खुसी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको नियत र सन्देश स्पष्ट रहेको दाबी गर्दै कसैको भावनामा चोट पुर्याउने उद्देश्य नरहेको बताएका छन्।
उनले फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको जानकारी दिँदै अब दर्शकसँग सिनेमाघरमा भेट हुने बताएका छन्।
द्वापरयुग र कलियुगको कथालाई जोडेर निर्माण गरिएको फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया र प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ।
काली रानी श्रेष्ठले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। अब विवाद र आलोचनाबीच प्रदर्शनमा आउन लागेको ‘पाँच पाण्डव’ले दर्शकको कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।