काठमाडौं । नेपाली मौलिक चाडपर्व, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ आयोजना गर्ने भएको छ।
प्रतियोगितामा उत्कृष्ट भिडियो रिल बनाउने सहभागीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली समाजमा जीवजन्तुप्रति गरिने प्रेम र सम्मानलाई डिजिटल माध्यमबाट विश्वभर चिनाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ। तर भिडियो भने अंग्रेजी भाषामा हुनुपर्नेछ। भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा नेपाल फेस्टिभल र कुकुर तिहारसँग सम्बन्धित ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। त्यस्तै, इन्स्टाग्राममा नेपाल टुरिजमको आधिकारिक अकाउन्ट र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ।
सहभागीले सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने गरी तयार गरिएको गुगल ड्राइभ लिंक इमेलमार्फत बोर्डमा पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुने भिडियो आफ्नै मौलिक सिर्जना हुनुपर्नेछ। प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ।
प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१ अर्थात् मंसिर ५ गते तोकिएको छ। यसअघि पनि मन्त्री पौडेलकै निर्देशनमा बडादसैँको अवसरमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थाको सहकार्यमा देशभरका १०० स्थानमा लिङ्गे पिङ राखिएको थियो।
नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गरिन्छ। तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई माला, टीका लगाएर मीठा परिकार खुवाउने परम्परा छ।
यही सांस्कृतिक विशेषतालाई डिजिटल माध्यमसँग जोडेर नेपाली मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने पर्यटन बोर्डको लक्ष्य छ। प्रतियोगिताले युवालाई सिर्जनात्मक सामग्री उत्पादनमा प्रोत्साहन गर्नुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बोर्डको विश्वास छ।