एजेन्सी । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आगामी साता संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा त्रिपक्षीय शान्ति वार्ता हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले आगामी नोभेम्बर १० र ११ मा अमेरिका, रुस र युक्रेनबीच उच्चस्तरीय छलफल हुने बताएका हुन्।
गत फेब्रुअरीमा इरानसँगको युद्ध चर्किएपछि स्थगित भएको कूटनीतिक प्रयासलाई पुनः अघि बढाउने क्रममा यो वार्ता हुन लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पका विशेष दूत स्टेभ भिटकफ र वरिष्ठ सल्लाहकार जारेड कुसनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको शृङ्खलाबद्ध छलफलपछि वार्ताको मिति तय भएको हो।
आबु धाबीमा हुने वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व भिटकफ र कुसनरले गर्नेछन्। वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, सैन्य तनाव कम गर्ने उपाय, मानवीय सहायता र दीर्घकालीन शान्ति स्थापनाका विषयमा छलफल हुने बताइएको छ।
भिटकफका अनुसार अमेरिकाले युद्ध अन्त्यका लागि व्यापक र दिगो शान्ति सम्झौताको आधार तयार पार्न चाहेको छ। त्यसका लागि आबु धाबी बैठकअघि अमेरिकी अधिकारीहरूले ब्रसेल्समा फ्रान्स, जर्मनी, बेलायत, युरोपेली संघ र नेटोका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ। उक्त बैठकमा युक्रेनको सुरक्षा प्रत्याभूति र युद्धपछिको युरोपेली सुरक्षा संरचनाबारे खाका तयार पारिनेछ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसमाथिका केही प्रतिबन्ध खुकुलो पार्ने तथा रुसी डिजेल बिक्रीसँग सम्बन्धित प्रतिबन्ध हटाउने निर्णय गरेपछि मस्को शान्ति सम्झौताका लागि थप लचिलो हुन सक्ने अमेरिकी पक्षको अपेक्षा छ।
तर, युद्ध अन्त्यका लागि तत्काल ठोस सहमति हुनेमा भने आशङ्का कायमै छ। विशेषगरी युक्रेनी भूभाग र रुसले कब्जा गरेका क्षेत्रको भविष्यबारे दुवै पक्षबीच गम्भीर मतभेद छ। रुसी राष्ट्रपति पुटिनले युद्धविरामको प्रस्ताव स्वीकार नगरेको र युक्रेनी सहरहरूमा आक्रमण जारी राखेको अवस्थामा वार्ताबाट सहमति जुटाउन कठिन देखिएको विश्लेषकहरूको आकलन छ।
यता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनका ऊर्जा तथा लजिस्टिक पूर्वाधारमा ठूलो हवाई आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन्। युक्रेनी गुप्तचर निकायको प्रतिवेदन उद्धृत गर्दै उनले अमेरिकामा मध्यावधि निर्वाचन भइरहेका बेला विश्वको ध्यान अन्यत्र केन्द्रित भएको मौका पारेर रुसले ठूलो आक्रमण गर्न सक्ने बताएका हुन्।
एकातिर युद्ध अन्त्यका लागि कूटनीतिक पहल अघि बढिरहेका बेला अर्कोतिर सम्भावित रुसी आक्रमणको चेतावनीले क्षेत्रीय तनाव थप बढाएको छ। यस्तो अवस्थामा आबु धाबीमा हुने त्रिपक्षीय वार्तालाई रुस-युक्रेन युद्धको भविष्यका लागि महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। तर, वर्षौंदेखि जारी युद्ध अन्त्य गर्न दुवै पक्ष भूभाग र सुरक्षा व्यवस्थासम्बन्धी अडानमा कति लचिलो हुन्छन् भन्ने विषयले नै वार्ताको सफलता निर्धारण गर्नेछ।