काठमाडौं । दसैंको अवसर पारेर प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘कबड्डी ५’ बक्स अफिसमा सबैभन्दा सफल देखिएको छ। प्रदर्शनको १० दिनमै फिल्मले १० करोड ७६ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ कमाएको हो। कात्तिक १५ गतेसम्म फिल्मका ३ लाख ४६ हजार ४२७ टिकट बिक्री भएका छन्।
योसँगै ‘कबड्डी ५’ यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ। यसअघि उक्त स्थानमा रहेको ‘पेन्सन पट्टा’ले १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस कमाएको थियो। रोचक कुरा के छ भने यी दुवै फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्।
दसैंमा प्रदर्शन भएका फिल्ममध्ये दोस्रो स्थानमा ‘आ बाट आमा २’ रहेको छ। फिल्मले आइतबारसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा उल्लेख छ। फिल्मका २ लाख १३ हजार १९४ टिकट बिक्री भएका छन्।
त्यस्तै, ‘छ माया छपक्कै २’ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ कमाउँदै तेस्रो स्थान हासिल गरेको छ। विराज भट्टको निर्देशनमा बनेको एक्सन फिल्म ‘१२ गाउँ २’ भने अपेक्षाअनुसार व्यापार गर्न असफल देखिएको छ। फिल्मले ७४ हजार ८०३ टिकट बिक्रीबाट २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ मात्रै ग्रस कमाएको छ।
पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोड रुपैयाँ कमाएको ‘१२ गाउँ’को दोस्रो श्रृंखलाले भने अपेक्षित दर्शक तान्न सकेन। सार्वजनिक तथ्यांकका आधारमा यसलाई यस वर्षकै ठूलो व्यावसायिक असफलतामध्ये एक मानिएको छ।
यसैबीच, चलचित्र विकास बोर्डले अन्य फिल्मको व्यापार विवरण पनि सार्वजनिक गरेको छ। जसअनुसार ‘गौँथली’ले २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ग्रस कमाउँदै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्मको स्थान कायम राखेको छ। फिल्मका ९ लाख ४६ हजार ८३४ टिकट बिक्री भएका छन्।
त्यस्तै, ‘बाः एक योद्धा’ले ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा उल्लेख छ।
समग्रमा दसैंमा प्रदर्शन भएका फिल्ममध्ये ‘कबड्डी ५’ र ‘आ बाट आमा २’ले बक्स अफिसमा बलियो उपस्थिति देखाएका छन् भने ‘१२ गाउँ २’को कमजोर व्यापारले नेपाली फिल्म क्षेत्रमा अपेक्षा र वास्तविक कमाइबीचको अन्तरलाई फेरि उजागर गरेको छ।