काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानको आगामी फिल्म ‘किङ’ले प्रदर्शनमा आउनुअघि नै ६६५ करोड भारतीय रुपैयाँ आम्दानी सुनिश्चित गरेको छ। आगामी डिसेम्बर २४ अर्थात् पुस ९ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मले विभिन्न प्रदर्शन तथा प्रसारण अधिकार बिक्रीबाटै यति ठूलो रकम जुटाएको हो।
शाहरुख खान करिब दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेको फिल्म ‘किङ’लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन्। फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन र सुहाना खानको पनि अभिनय रहेको छ। शाहरुखकै निर्माण कम्पनी रेड चिलिज इन्टरटेनमेन्टले फिल्म निर्माण गरेको हो।
भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार ‘किङ’को निर्माण लागत करिब ४ सय करोड भारु पुगेको छ। सुरुमा २ सय करोड भारुको बजेटमा निर्माण गर्ने योजना बनाइए पनि छायांकन तथा निर्माण प्रक्रिया अघि बढ्दै जाँदा लागत दोब्बर पुगेको बताइएको छ। उक्त बजेटमा शाहरुख खानको पारिश्रमिक भने समावेश छैन। उनको पारिश्रमिक र प्रचारप्रसार खर्चसमेत जोड्दा फिल्मको कुल लागत अझै बढ्ने अनुमान छ।
यद्यपि, फिल्मको निर्माण लागत उच्च भए पनि निर्माताले प्रदर्शनअघि नै विभिन्न अधिकार बिक्री गरेर ठूलो रकम सुनिश्चित गरेका छन्। पिंकभिल्लाका अनुसार विदेश प्रदर्शन अधिकार १७५ करोड भारुमा बिक्री भएको छ भने भारतभित्रको हल प्रदर्शन अधिकार २५० करोड भारुमा बिक्री गरिएको छ। यसबाट हल प्रदर्शन अधिकार बिक्रीबाट मात्रै ४२५ करोड भारु आम्दानी भएको छ।
त्यस्तै, फिल्मको डिजिटल प्रदर्शन अधिकार नेटफ्लिक्सले १५० करोड भारुमा खरिद गरेको बताइएको छ। म्युजिक राइट्सबाट ६५ करोड र टेलिभिजन अर्थात् स्याटेलाइट प्रदर्शन अधिकारबाट २५ करोड भारु प्राप्त भएको छ।
यसरी विदेश तथा भारतभित्रको हल प्रदर्शन, ओटीटी, म्युजिक र स्याटेलाइट अधिकार बिक्रीबाट ‘किङ’ले प्रदर्शनअघि नै कुल ६६५ करोड भारु आम्दानी सुनिश्चित गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ।
फिल्मको बक्स अफिस व्यापार राम्रो भएमा ओटीटी सम्झौतासहित अन्य अधिकारबाट हुने आम्दानी थप बढ्न सक्ने अनुमान गरिएको छ। अब भने ठूलो लगानी र प्रदर्शनअघिकै आकर्षक आम्दानी गरेको ‘किङ’ले हलमा कस्तो व्यापार गर्छ भन्ने प्रतीक्षा गरिएको छ।