काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफ्नो जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेका छन्। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दलेलालाई परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका हुन्।
भारतको विदेश मन्त्रालयले असोजको अन्तिम साता दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो। उनी नेपाल आउनु भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमणसँग पनि जोडिएको छ। मिश्री भोलिदेखि नेपालको भ्रमणमा आउँदैछन्।
दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। विदेश मन्त्रालयको सचिवस्तरमा काम गरिसकेका अनुभवी कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरिएको यो सम्भवतः पहिलोपटक हो।
सन् २०२५ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्दै आएका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरेका थिए। आर्थिक कूटनीति, विकास साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा रणनीतिक प्रविधिका विषयमा उनको विशेष अनुभव छ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाको कूटनीतिक यात्रा इजरायलको तेल अभिभबाट सुरु भएको थियो। उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा रहेर काम गरिसकेका छन्।
उनले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, सन् २००६ देखि २००७ सम्म र सन् २०१६ देखि २०१९ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए। त्यसक्रममा नेपाल र भुटानसँगको भारतको सम्बन्धलाई नजिकबाट हेर्ने अवसर उनलाई मिलेको थियो।
व्यापार तथा आर्थिक नीतिमा समेत दख्खल राख्ने दलेलाले भारतको वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन्। विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेको अनुभव पनि उनीसँग छ।
अमेरिकामा भारतीय कूटनीतिक प्रतिनिधिका रूपमा समेत काम गरेका दलेला सन् २०११ देखि २०१४ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा राजनीतिक मामिलासम्बन्धी मन्त्री थिए। त्यसपछि सन् २०२० देखि २०२२ सम्म उनले त्यही दूतावासमा सहायक मिसन प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धका विभिन्न विषयमा छलफल भइरहेका बेला अनुभवी कूटनीतिज्ञ दलेलाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।