काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन भएसँगै नेपालको खेल पर्यटन र होटल व्यवसायमा उत्साह थपिएको छ। क्रिकेट प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीको आगमनले काठमाडौंका चार र पाँचतारे होटलहरूको अकुपेन्सी बढाएको हो।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताका आठवटै फ्रेन्चाइज टोलीका खेलाडी तथा पदाधिकारी अहिले राजधानीका विभिन्न होटलमा बसिरहेका छन्। पर्यटकीय सिजनसमेत चलिरहेका बेला एनपीएल आयोजना हुँदा होटल व्यवसायले थप लाभ लिएको व्यवसायीहरूको भनाइ छ।
हाल एनपीएलका टोलीहरू आठवटा फरक होटलमा बसेका छन्। सुदूरपश्चिम रोयल्सका खेलाडी तथा प्रशिक्षक रोयल टुलिपमा छन् भने विराटनगर किंग्स हायात सेन्ट्रिकमा बसेका छन्। त्यस्तै, जनकपुर बोल्ट्स होटल र्याडिसन, चितवन राइनोज दुसित प्रिन्सेस, लुम्बिनी लायन्स भिभान्ता काठमाडौं र काठमाडौं गोर्खाज होटल क्राउन इम्पेरियलमा बसेका छन्।
यसैगरी कर्णाली याक्स बेस्ट वेस्टर्न काठमाडौं र पोखरा एभेन्जर्स बेस्ट वेस्टर्न प्लस रिसोर्ट गोदावरीमा बसेका छन्। केही टोलीका प्रशिक्षकलगायत अन्य सदस्य भने होटल सोल्टीमा बसेको जनाइएको छ।
सम्बन्धित होटलहरूका अनुसार एनपीएलका खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिहरूको बसाइका कारण होटलहरूको अकुपेन्सी ७० प्रतिशतभन्दा माथि पुगेको छ। प्रत्येक होटलमा कम्तीमा २० जना खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिहरू बसिरहेका छन्।
होटल संघ नेपाल ९हान०का अध्यक्ष विनायक शाहले एनपीएलले पर्यटन तथा होटल व्यवसायमा थप उत्साह सिर्जना गरेको बताएका छन्। अक्टोबर र नोभेम्बर पर्यटकीय दृष्टिले महत्त्वपूर्ण समय भएकाले यही समयमा एनपीएल आयोजना हुँदा होटल व्यवसायले दोहोरो लाभ लिन पाएको उनको भनाइ छ।
उनका अनुसार आठवटै फ्रेन्चाइज टोलीका स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक र व्यवस्थापन समूहको लामो समयसम्मको बसाइले होटल क्षेत्रमा चहलपहल बढाएको छ। प्रतियोगिता हेर्न आउने समर्थकहरूलाई समेत खानपान, आवास र यातायातको आवश्यकता पर्ने भएकाले यसले पर्यटनसँग सम्बन्धित अन्य व्यवसायलाई पनि चलायमान बनाउने शाहको अपेक्षा छ।
अन्तर्राष्ट्रिय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुनु नेपालको पर्यटन प्रवर्द्धनका लागि अर्को अवसर भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली क्रिकेट र नेपालको पहिचान स्थापित गर्न प्रतियोगिताले सहयोग पुर्याइरहेको उनले बताएका छन्।
म्यारियट होटलका अध्यक्ष शशिकान्त अग्रवालले पनि नेपालमा खेल पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन्। उनका अनुसार खेल पर्यटनले होटल व्यवसाय मात्रै नभई रेस्टुरेन्ट, बार, ट्याक्सी तथा अन्य सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुर्याउन सक्छ।
खेल पर्यटनको विस्तारले होटल व्यवसायको कारोबार चार गुणासम्म बढाउन सक्ने उनको आकलन छ। नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको र रातिको समयमा समेत खेल आयोजना गर्न सकिने अवस्था बनेकाले राज्यले खेल पर्यटनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
एनपीएलले क्रिकेट प्रतियोगिताको सीमाभन्दा बाहिर गएर पर्यटन, आतिथ्य सत्कार र सेवा क्षेत्रलाई समेत जोड्न थालेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको चर्चा बढिरहेका बेला यस्ता प्रतियोगितालाई व्यवस्थित रूपमा विस्तार गर्न सके खेल पर्यटन नेपालको अर्थतन्त्रको नयाँ सम्भावनाका रूपमा स्थापित हुन सक्ने देखिन्छ।