काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा आपत्कालीन सहायता पुर्याउन १६ करोड अमेरिकी डलर रकम जारी गरेको छ।
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार आपत्कालीन प्रतिक्रिया कोषबाट १५ करोड अमेरिकी डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको हो।
यसैगरी, ती १२ मानवीय संकटबाट प्रभावित अपांगता भएका व्यक्तिहरूका तत्कालीन आवश्यकताका लागि थप १ करोड अमेरिकी डलर छुट्याइएको छ। संयुक्त राष्ट्रसङ्घले यसबाट मानवीय सहायता थप पहुँचयोग्य र समावेशी बनाउन सहयोग पुग्ने जनाएको छ।
ओसीएचएका अनुसार यो सहयोग यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका करिब ८ करोड ७० लाख मानिससम्म सहायता पुर्याउने व्यापक प्रयासअन्तर्गत जारी गरिएको हो। संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला प्रमुख टम फ्लेचरले मानवीय संकटमा परेकाहरूलाई प्रभावकारी रूपमा सहायता पुर्याउन आर्थिक स्रोतसँगै राजनीतिक इच्छाशक्ति पनि आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घले आपत्कालीन प्रतिक्रिया कोषमार्फत संकटग्रस्त क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, आवास, पानी तथा सरसफाइ लगायतका अत्यावश्यक मानवीय सहायता पुर्याउन सहयोग गर्दै आएको छ।