काठमाडौं । नेपाली फिल्म क्षेत्रमा नयाँ फिल्म ‘पच्चीस पच्चीस’ निर्माणको तयारी तीव्र पारिएको छ। आगामी मंसिरबाट छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्ममा कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ। यसअघि मुख्य भूमिकामा चार कलाकारको नाम सार्वजनिक गरिएको फिल्ममा अब अनुभवी तथा लोकप्रिय कलाकारहरू पनि जोडिएका छन्।
गत साउनमा घोषणा गरिएको फिल्ममा अभिषेक खड्का, खुसी कार्की, प्रमोद अग्रहरी र अमित सुब्बा अर्थात् भक्ते भाइ मुख्य भूमिकामा रहने जानकारी दिइएको थियो। पछिल्लो समय फिल्ममा सरोज खनाल, दीपाश्री निरौला, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतम पनि अनुबन्धित भएका छन्।
निर्देशक सुब्रत आचार्यका अनुसार फिल्म सामाजिक-कमेडी विधामा निर्माण हुनेछ। मनोरञ्जनसँगै सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गर्ने तयारी रहेको उनले बताएका छन्। नेपाली समाज र परिवेश सुहाउँदो कथा भएकाले फिल्म दर्शकका लागि मनोरञ्जनात्मक हुने निर्माण पक्षको दाबी छ।
सुब्रत आचार्य र जयाको कथा रहेको फिल्मको पटकथा सुशील देवकोटाले तयार पारेका हुन्। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता कर्ण कार्की हुन्। उनले यसअघि फिल्म ‘होस्टेल ३’ निर्माण गरेका थिए। दीपेन्द्र गौतम कार्यकारी निर्माता रहेको फिल्ममा धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माताका रूपमा रहेका छन्।
फिल्मको प्राविधिक पक्षमा हरि हुमागाईंको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, ज्योति केसीको पोसाक डिजाइन तथा योगेश काजीको ध्वनि संयोजन रहनेछ। फिल्मको लाइन प्रोडक्सनको जिम्मेवारी सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले सम्हाल्नेछन्।
फिल्मको वितरण रोहित-रत्नको कम्पनी आरआर फिल्म्सले गर्नेछ। प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। यद्यपि, निर्माण पक्षले फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखेको छ।