काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मंगलबार क्वालिफायर-१ मा आमनेसामने हुँदैछन्। राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीबीचको भिडन्तलाई फाइनल प्रवेशको निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ। यस खेलको विजेता सिधै उपाधि भिडन्तमा पुग्नेछ भने पराजित टोलीले फाइनल पुग्न अर्को अवसर पाउनेछ।
लिग चरणमा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै ११ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। सात खेलमध्ये पाँचमा जित निकालेको लुम्बिनीले एक खेलमा मात्रै हार व्यहोरेको थियो भने चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएको थियो। प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिमलाई सात विकेटले हराएको लुम्बिनीले उक्त खेलमा विपक्षी टोलीलाई ८७ रनमै समेट्दै १० ओभरभित्र लक्ष्य पूरा गरेको थियो।
तर, लुम्बिनीको अपराजित यात्रामा काठमाडौं गोर्खाजले पूर्णविराम लगाएको थियो। उक्त हारसँगै टोलीको लगातार ११ खेलको अपराजित यात्रा पनि टुङ्गिएको थियो। गत संस्करणका अधिकांश खेलाडीलाई निरन्तरता दिएको लुम्बिनी यसपटक पनि आफ्नो पुरानै टोली संरचनामा भर परेको छ।
उता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले सुरुवाती खेलमा अपेक्षित लय समात्न नसके पनि पछिल्ला खेलमा उत्कृष्ट पुनरागमन गरेको छ। प्रतियोगिताका सुरुका तीन खेलमध्ये दुईमा पराजित भएको सुदूरपश्चिमले त्यसपछि लगातार चार खेल जित्दै १० अंक जोडेर दोस्रो स्थान सुरक्षित गरेको हो।
सुदूरपश्चिमका लागि यसपटकको क्वालिफायर-१ अर्को महत्वपूर्ण अवसर पनि हो। एनपीएलका तीनै संस्करणमा प्लेअफमा पुग्ने एकमात्र टोली रहेको सुदूरपश्चिमले लगातार तेस्रोपटक क्वालिफायर-१ खेल्दैछ। लुम्बिनीलाई पराजित गर्न सके टोली लगातार तेस्रोपटक फाइनल पुग्नेछ।
तर, सुदूरपश्चिमका लागि लुम्बिनीको चुनौती सहज भने हुने छैन। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनीसँगै पराजित भएको थियो। त्यसैले यसपटक लुम्बिनीलाई हराउँदै फाइनल पुग्नु सुदूरपश्चिमका लागि अघिल्लो संस्करणको हारको बदला लिने अवसरसमेत हुनेछ।
यसैबीच, सुदूरपश्चिमले टोलीलाई थप मजबुत बनाउन विदेशी खेलाडीमा परिवर्तन गरेको छ। अघिल्लो दिन मात्रै स्कटिस ओपनिङ ब्याटर जर्ज मन्सीलाई टोलीमा भित्र्याएको सुदूरपश्चिमले अलराउन्डर ब्रान्डन म्याकमुलेनको स्थानमा उनलाई ल्याएको हो। साथै थानुका दवारे पनि टोलीमा थपिएका छन्। यी दुवै खेलाडीले लुम्बिनीविरुद्ध खेल्ने सम्भावना रहेको छ।
एकातिर लिग चरणको शीर्ष स्थान र पहिलो खेलको जितबाट आत्मविश्वास बटुलेको लुम्बिनी छ भने अर्कोतिर लगातार चार जितसहित लयमा फर्किएको सुदूरपश्चिम छ। दुवै टोलीका लागि फाइनल प्रवेशको यो महत्वपूर्ण अवसर हो। अब क्वालिफायर-१ को नतिजाले उपाधि यात्रामा पहिलो फाइनलिस्टको टुङ्गो लगाउनेछ।