काठमाडौं । अभिनेता तथा निर्देशक अर्पण थापाको निर्देशनमा बनेको फिल्म ‘फ्रेन्च किस’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मको निर्माण टिमले आइतबार टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको टिजरमा अभिनेता अर्पण थापा र अभिनेत्री थिन्ले ल्हामोको प्रेम र सम्बन्धलाई केन्द्रमा राखिएको छ। काठमाडौंका विभिन्न सुन्दर स्थानदेखि तालसम्म हात समाएर घुमिरहेको एक जोडीको दृश्यबाट सुरु हुने टिजरले आधुनिक प्रेमको भावनात्मक पक्षलाई प्रस्तुत गर्छ।
टिजरमा प्रेमप्रतिको आ-आफ्नो बुझाइ साटिरहेका अर्पण र थिन्ले एकअर्काप्रति आकर्षित देखिन्छन्। उनीहरूबीचको निकटता बढ्दै जाँदा चुम्बन र अन्तरंग दृश्यसमेत समेटिएको छ। तर, रोमान्टिक सम्बन्धमा रमाइरहेको जोडीबीच पछि चर्काचर्की सुरु हुन्छ। यसले प्रेममा आउने असमझदारी र सम्बन्धको उतारचढावलाई संकेत गर्छ।
टिजरले आधुनिक प्रेममा देखिने आकर्षण, शारीरिक निकटता र भावनात्मक अस्थिरताको कथा फिल्ममा समेटिएको संकेत गरेको छ। यद्यपि, फिल्मको कथावस्तुबारे निर्माण टिमले थप विवरण सार्वजनिक गरेको छैन।
अर्पण थापा निर्देशित फिल्ममा उनीसँगै थिन्ले ल्हामो, रेखा थापा र गौरी मल्ललगायत कलाकारको अभिनय छ। नयाँ पुस्ताको प्रेमकथालाई फरक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित फिल्म निर्माण गरिएको निर्देशक थापाले बताएका छन्। फिल्मको कथा पनि उनैले लेखेका हुन्।
ए।टी।एफ। प्रोडक्सन प्रा।लि।को ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अर्पण थापा र सौगात बस्नेत हुन्। सुभाष बी शाही र कान्तिपुर फिल्म एकेडेमी सह–निर्माताका रूपमा रहेका छन्।
फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् भने संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहेको छ। फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
‘फ्रेन्च किस’ले नयाँ पुस्ताको प्रेम, आकर्षण र सम्बन्धका जटिलतालाई पर्दामा कस्तो रूपमा प्रस्तुत गर्छ भन्ने चासो यसको टिजर सार्वजनिक भएसँगै बढेको छ। फिल्म माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।