काठमाडौं । स्वास्थ्य चौकीसमेत नभएको एउटा गाउँमा अस्पताल बनाउन गाउँलेहरूले बैंक लुट्ने योजना बनाए भने के होलारु यही रोचक कथावस्तुलाई हास्य शैलीमा प्रस्तुत गर्दै फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ।
हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले निर्माण गरेको फिल्मको ट्रेलर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले ग्रामीण परिवेशमा आधारित फिल्मको कथावस्तु र पात्रहरूको चरित्रबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ।
फिल्मको कथा कुलेबारी नामक गाउँको वरिपरि घुमेको छ। जहाँ स्वास्थ्य चौकीसमेत नहुँदा स्थानीय बासिन्दाले उपचारका लागि ठूलो समस्या भोगिरहेका हुन्छन्। गाउँमा अस्पताल निर्माण गर्ने उद्देश्यले गाउँलेहरू बैंक लुट्ने योजना बनाउँछन्। तर, योजना बनाए पनि त्यसलाई कार्यान्वयन गर्ने आँट कसैमा हुँदैन। त्यसपछि अस्पताल बनाउने अभियानमा गाउँलेहरूले निकाल्ने विभिन्न जुक्ति र परिस्थितिलाई ट्रेलरमा हास्यपूर्ण ढंगले प्रस्तुत गरिएको छ।
दुई दशकअघि चर्चित बनेको गीत ‘मायाले बाँध्यौ लौ रेशम’लाई पृष्ठभूमिमा राखेर तयार पारिएको ट्रेलरले फिल्मको ग्रामीण परिवेश र हास्यप्रधान कथालाई उजागर गरेको छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, खड्गबहादुर पुन (खबपु), पवन खतिवडा (म्याकुरी) र रेअर राईलगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा तथा संवाद सरोज भण्डारी, विकास अर्याल र बिक्की अग्रवालले लेखेका हुन् भने पटकथा बिक्की अग्रवालकै रहेको छ। श्रद्धा प्रसाईं र सुमित्रा थापा फिल्मका निर्माता हुन्। सुदीप बरालको छायांकन, मिलन विक्रम शाहको सम्पादन र शिशिर ठटालको पार्श्व संगीत रहेको फिल्म आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
गम्भीर सामाजिक समस्यालाई हास्यरसमा प्रस्तुत गर्ने प्रयास गरिएको ‘ककाकिकी’ले दर्शकलाई मनोरञ्जनसँगै ग्रामीण भेगको स्वास्थ्य सेवाको अवस्थाबारे पनि सोच्न बाध्य पार्ने अपेक्षा गरिएको छ।