काठमाडौं । इरानले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीमाथि आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो एयरोस्पेस फोर्सले अमेरिकी राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको जनाएको हो।
इरानी सरकारी प्रसारकमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा सिरिकस्थित दूरसञ्चार टावरमाथि भएको हवाई आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको उल्लेख छ।
आईआरजीसीले यस आक्रमणलाई हर्मुज जलघाँटीमा अमेरिकी पक्षबाट भइरहेका सैन्य गतिविधिप्रति चेतावनीका रूपमा समेत व्याख्या गरेको छ। साथै, खाडी क्षेत्रमा अमेरिकी गतिविधि र तेल तस्करी रोक्न दबाब सिर्जना गर्ने उद्देश्य रहेको इरानको भनाइ छ।
तर इरानको दाबीलाई बहराइनको राजधानी मनामा वा अमेरिकी पक्षले तत्काल पुष्टि गरेका छैनन्। त्यसैले राडार प्रणाली पूर्ण रूपमा ध्वस्त भएको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
पछिल्लो समय अमेरिका र इरानबीचको सैन्य तनावका कारण खाडी क्षेत्रका अमेरिकी सैन्य अखडा तथा रणनीतिक संरचनाहरू जोखिममा पर्दै आएका छन्। विशेषगरी विश्वकै महत्वपूर्ण तेल व्यापारिक मार्गमध्ये एक हर्मुज जलघाँटीलाई लिएर दुई पक्षबीच तनाव चुलिएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले यसअघि हर्मुज जलघाँटी हुँदै खाडी मुलुकहरूबाट ठूलो परिमाणमा तेल निर्यात गर्न सहयोग गरेको जनाएको थियो। अर्कोतर्फ, इरानले उक्त जलमार्ग हुँदै हुने जलयातायातमा प्रतिबन्ध लगाउनेदेखि अमेरिकी स्वार्थसँग जोडिएका विभिन्न संरचनालाई निशाना बनाउने चेतावनी दिँदै आएको छ।
यसैबीच, इरानविरुद्धको सैन्य अभियान र त्यसको आर्थिक प्रभावलाई लिएर अमेरिकाभित्र पनि असन्तुष्टि बढिरहेको विवरण सार्वजनिक भएका छन्। खाडी क्षेत्रमा जारी सैन्य तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति र क्षेत्रीय सुरक्षामा थप चुनौती सिर्जना गर्ने चिन्ता बढाएको छ।