काठमाडौं । अभिनेत्री सुनिशा बजगाईं अभिनीत फिल्म ‘तिलस्मी’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। पृथ्वी जयन्तीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मको निर्माण पक्षले यसै साता फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
तारा अधिकारीको निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुनिशा बजगाईं, जाहन्वी बस्नेत र महेश खड्का देखिएका छन्। पोस्टरमा जाहन्वी र सुनिशाले महेशको ज्याकेटको कलर समातेर तानिरहेको दृश्य प्रस्तुत गरिएको छ। जाहन्वीको सिउँदोमा सिन्दुर र गलामा पोते देखिन्छ भने सुनिशा अविवाहित पात्रको रूपमा देखिएकी छन्।
पोस्टरले फिल्ममा प्रेम, विवाह र सम्बन्धसँग जोडिएको कथावस्तु रहेको संकेत गरे पनि निर्माण पक्षले कथाबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुनिशा, जाहन्वी र महेशसँगै आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारको अभिनय छ।
निर्देशक अधिकारी स्वयंको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका हुन्। फिल्मका गीतमा सुमन केसी र किरण कँडेलले संगीत दिएका छन्।
पारिवारिक कथावस्तुमा आधारित फिल्ममा विनोद बलको छायांकन, नहकुल खड्काको सम्पादन, अमित श्रेष्ठको ध्वनि संयोजन तथा पार्किष गिरी र अमित श्रेष्ठको पार्श्व संगीत रहेको छ। फिल्ममा राजीव समरको कोरियोग्राफी र राजेन्द्र मोक्क्तानको रंग संयोजन छ।
फिल्मको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले संयुक्त रूपमा गर्नेछन्।