काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको भारतीय फिल्म ‘रामायण’ले विश्व बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । रणवीर कपूर अभिनीत यस फिल्मले प्रदर्शनको आठ दिनमै विश्वव्यापी एक हजार करोड भारुको कमाइ पार गरेको हो ।
ट्रेड पोर्टल साक्निल्कका अनुसार बिहीबारसम्म फिल्मले विश्वभरबाट एक हजार ३३ करोड ५५ लाख भारु ग्रस कमाएको छ । योसँगै ‘रामायण’ विश्वव्यापी रूपमा सबैभन्दा छिटो एक हजार करोड कमाउने तेस्रो भारतीय फिल्म बनेको छ ।
यसअघि ‘पुष्पा २’ले प्रदर्शनको छ दिनमै र ‘धुरन्धर २’ले सात दिनमै एक हजार करोड भारुको आँकडा पार गरेका थिए ।
‘रामायण’ले भारतमा मात्रै ५६४ करोड भारु नेट र ६७५ करोड भारु ग्रस कमाइ गरेको साक्निल्कले जनाएको छ । फिल्मको घरेलु कमाइमा हिन्दी संस्करणको योगदान सबैभन्दा ठूलो छ । आठ दिनमा हिन्दी संस्करणले ४३७ करोड भारु नेट कमाउँदा कन्नडले ४८ करोड ९५ लाख, तेलुगुले ३८ करोड ५ लाख, तमिलले २२ करोड १४ लाख र मलयालम संस्करणले १८ करोड ४५ लाख भारु नेट कमाएका छन् ।
यस वर्ष सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा ‘रामायण’ दोस्रो स्थानमा पुगेको छ । फिल्मले ‘दृश्यम ३’, ‘जेलर २’ र ‘हनुमान’को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको जनाइएको छ । अब यसको अघि ‘धुरन्धर २’ मात्रै छ, जसले भारतमा एक हजार १४९ करोड भारु नेट कमाएको थियो ।
‘धुरन्धर २’को घरेलु कमाइलाई उछिन्न सके ‘रामायण’ यस वर्षकै सर्वाधिक कमाउने भारतीय फिल्म बन्नेछ ।
दुई भागमा निर्माण गरिएको फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन् । त्यस्तै, रवि दुबे लक्ष्मण, अरुण गोविल राजा दशरथ, लारा दत्ता कैकेयी, रकुल प्रीत सिंह शूर्पणखा, काजल अग्रवाल मन्दोदरी र आदिनाथ कोठारे भरतको भूमिकामा देखिएका छन् । फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाइएको छ ।