काठमाडौं । गाजामा युद्धविराम लागू भएको अवस्थामा पनि इजरायलको आक्रमण रोकिएको छैन। दक्षिणी गाजाको खान युनिसस्थित एक अस्पतालमा इजरायली सेनाले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ भने कम्तीमा २७ जना घाइते भएका छन्।
बिहीबार बिहान नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागलाई लक्षित गरी आक्रमण गरिएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा चिकित्सक रिज्क अबु शुवाइरा पनि रहेका छन्। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासमेत घाइते भएका छन्।
गाजा स्वास्थ्य मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी र बिरामीलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रदान गरेको संरक्षणको उल्लंघन भएको भन्दै आक्रमणको निन्दा गरेको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पनि आक्रमणमा ६ जनाको मृत्यु र कम्तीमा २७ जना घाइते भएको पुष्टि गरेका छन्। उनका अनुसार आक्रमणबाट अस्पतालको शल्यक्रिया कक्ष, बिरामीको स्वास्थ्यलाभ कक्ष तथा सघन उपचार कक्षमा समेत व्यापक क्षति पुगेको छ।
डब्लुएचओका अनुसार सन् २०२३ अक्टोबरदेखि हालसम्म गाजामा स्वास्थ्य सेवासम्बन्धी पूर्वाधारमाथि भएका १ हजार ५६ वटा आक्रमण अभिलेख गरिएको छ। ती घटनामा १ हजार १० जनाको मृत्यु र १ हजार ७२५ जना घाइते भएका छन्।
यता, इजरायली रक्षा बल ९आईडीएफ० ले भने नासेर अस्पताल परिसरमा सक्रिय हमासका सैन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार आक्रमणमा खान युनिस ब्रिगेडका वरिष्ठ कमान्डर मोहम्मद अबु इस्माइलसमेत लक्षित थिए।
अस्पतालको दोस्रो तलालाई हमासले सैन्य मुख्यालयका रूपमा प्रयोग गरिरहेको र त्यहाँबाट इजरायली सैनिकमाथि आक्रमणको योजना बनाइएको इजरायली सेनाको आरोप छ। आक्रमणअघि सैन्य गतिविधि रोक्न चेतावनी दिएको तथा नागरिकको क्षति न्यूनीकरणका लागि सावधानी अपनाइएको पनि आईडीएफले दाबी गरेको छ।
तर, डब्लुएचओ प्रमुख टेड्रोसले गाजाका अस्पतालहरू नागरिकका लागि जीवनरक्षक आधार भएकाले तिनको सुरक्षा अनिवार्य रहेको बताएका छन्। अस्पताललाई सैन्य प्रयोजनमा प्रयोग गर्न नहुने र त्यस्ता संरचनामाथि आक्रमण पनि गर्न नहुने उनको जोड छ।
अक्टोबर २०२५ मा युद्धविराम लागू भए पनि गाजामा अस्पतालमाथि भएको पछिल्लो आक्रमणले युद्धविरामको प्रभावकारिता र सर्वसाधारणको सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।