काठमाडौं । प्रदर्शनको सुरुवातसँगै भारतीय फिल्म ‘रामायण : राइज अफ अ लेजेन्ड’ले बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले दुई दिनमै विश्वव्यापी रूपमा २२१ करोड ५ लाख भारतीय रुपैयाँ ग्रस व्यापार गरेको छ ।
ट्रेड पोर्टल स्याक्निल्कका अनुसार फिल्मले भारतमा मात्रै दुई दिनमा ११२ करोड ९० लाख भारु नेट कमाइ गरेको छ । यससँगै फिल्मले घरेलु बजारमा सय करोडको आँकडा पार गरेको हो ।
फिल्मले प्रदर्शनको पहिलो दिन बिहीबार भारतमा पाँच भाषामा गरी ६४ करोड ८५ लाख भारु नेट कमाएको थियो । तर दोस्रो दिन शुक्रबार भने यसको कमाइमा केही गिरावट देखिएको छ । शुक्रबार फिल्मले ४८ करोड ५ लाख भारु नेट व्यापार गरेको छ । यो पहिलो दिनको तुलनामा २५.९ प्रतिशत कम हो ।
घरेलु बजारमा फिल्मको कमाइमा हिन्दी संस्करणको सबैभन्दा ठूलो योगदान रहेको छ । हिन्दी संस्करणले पहिलो दिन ४७ करोड ५० लाख र दोस्रो दिन ३५ करोड ५० लाख भारु कमाएको छ । यससँगै दुई दिनमा हिन्दी संस्करणको कुल नेट कमाइ ८३ करोड भारु पुगेको छ । यो फिल्मको भारतमा भएको कुल नेट कमाइको ७३.५ प्रतिशत हो । हिन्दीपछि कन्नड संस्करणले सबैभन्दा बढी व्यापार गरेको छ ।
नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको यस फिल्ममा रणबीर कपूरले भगवान् राम, साई पल्लवीले माता सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् ।
त्यस्तै, रवि दुबे लक्ष्मण, अरुण गोविल राजा दशरथ, लारा दत्ता कैकेयी, रकुल प्रीत सिंह शूर्पणखा, काजल अग्रवाल मन्दोदरी र आदिनाथ कोठारे भरतको भूमिकामा देखिएका छन् ।
दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मको दुई दिनको कमाइले निर्माण पक्षलाई उत्साहित बनाएको छ । दोस्रो दिन व्यापारमा गिरावट आए पनि विश्वव्यापी बक्स अफिसमा फिल्मले देखाएको सुरुवाती प्रदर्शनलाई बलियो मानिएको छ ।