एजेन्सी । रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ। शनिबार बिहान भएको उक्त आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् भने राजधानीका विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ।
युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाका वार्ताकारहरू आगामी मंगलबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो वार्ता गत फेब्रुअरीमा जेनेभामा भएको वार्तापछिको चौथो चरण हो।
शान्ति वार्ताको तयारी भइरहेकै समयमा भएको रुसी आक्रमणले युद्धविराम र कूटनीतिक प्रयासको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ। पश्चिमी राष्ट्रहरूले पनि क्षेत्रीय तथा सुरक्षा सम्बन्धी विषयमा सहमति जुट्न नसकेको स्वीकार गर्दै वार्ताको गतिरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन्।
राष्ट्रिय तथा स्थानीय अधिकारीहरूका अनुसार रातभरि गरिएको आक्रमणबाट किएभका आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ। आक्रमणपछि निप्रो नदीमाथिको एउटा पुलमा यातायात बन्द गरिएको छ भने विद्युत् र खानेपानी आपूर्तिमा समेत अवरोध सिर्जना भएको छ।
किएभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणबाट किएभ र झितोमिर क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताएका छन्। राजधानीको ऊर्जा आपूर्तिको अवस्था अत्यन्तै कठिन बनेको उल्लेख गर्दै उनले त्यसको प्रत्यक्ष असर ताप तथा खानेपानी वितरण प्रणालीमा परेको जानकारी दिएका छन्।
यसैबीच, दक्षिणी युक्रेनको कोमिशुभाखा गाउँमा रुसी आक्रमणपछि उद्धार तथा पुनःस्थापनाका काम जारी छन्। सोमबार रुसी निर्देशित बमहरू स्थानीय पूर्वविद्यालय भवन र नजिकैको आश्रयस्थलमा खस्दा ठूलो मानवीय क्षति भएको थियो। आक्रमणका बेला स्थानीय बासिन्दाहरू उक्त स्थानमा मानवीय सहायता प्राप्त गर्न प्रतीक्षारत थिए।
मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग भइरहेको पूर्वविद्यालय भवनमा भएको आक्रमणमा ५५ जनाको मृत्यु भएको थियो। शनिबार बिहान थप दुई जनाको शव फेला परेको छ भने दर्जनौँ मानिस अझै बेपत्ता रहेको जनाइएको छ।
एकातिर युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढिरहेका छन् भने अर्कोतिर रुसी आक्रमण निरन्तर जारी छ। यस्तो अवस्थामा अबु धाबीमा हुन लागेको त्रिपक्षीय वार्ताले युद्ध अन्त्यका लागि ठोस निकास दिन सक्छ वा सक्दैन भन्ने चासो बढेको छ।