काठमाडौं । कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को प्रदर्शन मिति सरेको छ । यसअघि मंसिर ४ गते प्रदर्शन गर्ने तयारी गरिएको फिल्म अब दुई साता पछि अर्थात् मंसिर १८ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको हो ।
निर्माण पक्षले शुक्रबार नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दै फिल्मको फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक मुद्रामा देख्न सकिन्छ । पोस्टरमा अञ्जना विजयको छातीमा टाँसिएर रोइरहेकी छन् भने विजयको आँखामा पनि आँसु देखिन्छ । पोस्टरले फिल्ममा प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावको कथा समेटिएको संकेत गरेको छ ।
रोचक कुरा त के छ भने, ‘सिन्दुरे जात्रा’ प्रदर्शनमा आउने मंसिर १८ गते नै दयाहाङ राई अभिनीत फिल्म ‘रातो घेरा’ पनि प्रदर्शन हुँदैछ । यससँगै मंसिर १८ मा नेपाली पर्दामा दुई फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियार, राकेश खड्का र युना खड्कालगायत कलाकारको अभिनय छ ।
फिल्मलाई नेम महर्जनले निर्माण गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्मको लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका छन् । पदमबहादुर श्रेष्ठ ९बाबु०को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको छ ।
फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सहनिर्माताका रूपमा रहेका छन् ।