काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको स्पष्ट पारेका छन्। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद र बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर आफ्नो चरित्रमाथि प्रश्न उठाइएको भन्दै उनले त्यसको खण्डन गरेका हुन्।
बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले आफूविरुद्ध विभिन्न आरोप र विवाद सिर्जना गरेर बदनाम गर्न खोजिएको बताएका छन्। उनले आफ्नो राजनीतिक जीवन र सार्वजनिक भूमिकामाथि उठाइएका प्रश्नको जवाफ दिँदै आफू स्वच्छ र इमानदार धरातलमा उभिएको दाबी गरेका छन्।
‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ थापाले भनेका छन्, ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् ।’
आफूले विगतदेखि नै शक्तिशाली सरकारका गलत निर्णय र कामको विरोध गर्दै आएको स्मरण गराउँदै थापाले आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा पनि गलत कामविरुद्ध प्रश्न गर्न नछाडेको बताएका छन्। नैतिकता र इमानदारीमा सम्झौता गरेको भए आफूले यसरी निरन्तर आवाज उठाउन नसक्ने उनको तर्क छ।
थापाले आफ्नो राजनीतिक यात्रामा पटक-पटक विवाद र चुनौती सिर्जना गरिएको उल्लेख गर्दै हरेक पटक त्यसको सामना गरेर अघि बढेको बताएका छन्। आफ्नो वरिपरि विवाद ल्याइएको र चरित्रमाथि व्यापक प्रश्न उठाइएको भन्दै उनले त्यसबाट आफू विचलित नभएको सन्देश दिएका छन्।
‘यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठीक ठाउँमा उभिएको छु। त्यसैले ढुक्क रहनुस्,’ उनले समर्थक तथा शुभेच्छुकलाई आश्वस्त पार्दै भनेका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद चर्किरहेका बेला सभापति थापाको यो भिडियो सन्देश आएको हो। पार्टीभित्रको विवादसँगै आफूविरुद्ध उठेका नैतिकता र आर्थिक लेनदेनसम्बन्धी प्रश्नलाई सम्बोधन गर्ने प्रयासका रूपमा उनको अभिव्यक्तिलाई हेरिएको छ।