काठमाडौं । विभिन्न विवाद र अन्योलबीच फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन निश्चित भएको छ। वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म शुक्रबार अर्थात् कात्तिक २० गतेदेखि पूर्वनिर्धारित मितिमै देशभरका हलमा प्रदर्शन हुने भएको हो। निर्माण कम्पनी कालीरानी फिल्म्सले बिहीबार विज्ञप्ति जारी गर्दै फिल्म निर्धारित मितिमै प्रदर्शन हुने जानकारी दिएको छ। यससँगै फिल्मको अग्रिम टिकट बुकिङसमेत खुला गरिएको छ।
पछिल्लो समय फिल्मको नाम, गीतका दृश्य र द्रौपदी पात्रको प्रस्तुतिलाई लिएर विवाद उत्पन्न भएपछि यसको प्रदर्शन अन्योलमा परेको थियो। सामाजिक सञ्जालमा फिल्मको प्रदर्शन रोकिएको खबरसमेत फैलिएको थियो।
निर्माण कम्पनीले भने फिल्मले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने, अपमान गर्ने अथवा अवहेलना गर्ने उद्देश्य नराखेको स्पष्ट पारेको छ। सबै धर्म, संस्कृति र आस्थाप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै कम्पनीले दर्शकलाई फिल्म हेर्न आग्रहसमेत गरेको छ।
यसअघि बुधबार गृह मन्त्रालयको आदेशमा सञ्चार मन्त्रालयले निर्माण पक्षलाई फोनमार्फत फिल्मको प्रदर्शन रोकिएको पत्र बुझ्न आउन आग्रह गरेको थियो। चलचित्र जाँच पास समितिबाट प्रदर्शन अनुमति पाइसकेको फिल्मलाई मन्त्रालयले रोक्न खोजेको भन्दै फिल्मकर्मीहरूले विरोध जनाएका थिए।
विवाद बढ्दै गएपछि बिहीबार बिहान चलचित्र जाँच पास समिति, गृह मन्त्रालय र सञ्चार मन्त्रालयका प्रतिनिधि तथा फिल्मका निर्माताबीच छलफल भएको थियो।
छलफलमा चलचित्र जाँच पास समितिले प्रदर्शन अनुमति दिइसकेको फिल्म प्रदर्शन गर्ने अधिकार निर्मातामा रहने र समितिको निर्णयको विश्वसनीयता जोगाउनु राज्यको दायित्व हुने विषयमा दुवै मन्त्रालय सहमत भएका थिए। त्यसपछि फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको जनाइएको छ।
मन्त्रालयसँगको छलफलपछि निर्माण कम्पनीले विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शनबारेको अन्योल अन्त्य गरेको हो।
वसन्त निरौलाको निर्देशन रहेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ। विवादका कारण चर्चामा आएको फिल्म अब शुक्रबारदेखि देशभरका हलमा दर्शकमाझ आउने भएको छ।