काठमाडौं । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफ्नै पार्टीभित्रबाट कार्यशैली र नीतिगत प्राथमिकता परिवर्तन गर्न दबाब बढेको छ। निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवारहरू पराजित हुँदै कंग्रेसको नियन्त्रण डेमोक्र्याटहरूले आफ्नो हातमा लिएपछि ट्रम्पको नेतृत्वमाथि पार्टीभित्रै प्रश्न उठ्न थालेको हो।
चुनावी परिणामपछि रिपब्लिकन पार्टीका नेता, सहयोगी र राजनीतिक रणनीतिकारहरूले ट्रम्पलाई आफ्नो कार्यशैली सुधार्न तथा विवादास्पद नीतिहरू पुनर्विचार गर्न आग्रह गरिरहेका छन्। विशेषगरी इरान युद्ध, कर नीति र ह्वाइट हाउसको प्रशासनिक कार्यशैलीले पार्टीलाई चुनावी क्षति पुर्याएको उनीहरूको निष्कर्ष छ।
रिपब्लिकन रणनीतिकारहरूले ट्रम्पलाई ह्वाइट हाउसको नेतृत्वमा व्यापक सुधार गर्न, प्रशासनभित्र अनुशासन कायम गर्न र विवादित नीतिहरूको समीक्षा गर्न सुझाव दिएका छन्।
अनुभवी रिपब्लिकन रणनीतिकार जोन फीहेरीले चुनावी परिणामलाई ट्रम्पका लागि ठूलो राजनीतिक धक्काका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार ट्रम्पले ह्वाइट हाउसमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ। समय बित्दै जाँदा उनको राजनीतिक प्रभाव थप कमजोर हुन सक्ने फीहेरीको टिप्पणी छ।
तर ट्रम्पले भने निर्वाचन परिणामलाई आफ्नो नेतृत्वको असफलताका रूपमा स्वीकार गर्न चाहेका छैनन्। उनले चुनावी हारलाई व्यक्तिगत धक्काका रूपमा नलिएको प्रतिक्रिया दिएका छन्।
कंग्रेसमा डेमोक्र्याटहरूको नियन्त्रण कायम भएसँगै ट्रम्प प्रशासनका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने देखिएको छ। डेमोक्र्याटहरूले सरकारका विधेयक रोक्ने, प्रशासनमाथि अनुसन्धान गर्ने तथा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूलाई चुनौती दिने अधिकार प्राप्त गर्नेछन्। यसले ट्रम्पलाई कार्यकारी अधिकारको प्रयोगमा थप निर्भर बनाउन सक्ने विश्लेषण गरिएको छ।
इरान युद्धमाथि आफ्नै उपराष्ट्रपतिको प्रश्न
चुनावी पराजयपछि ट्रम्पका सम्भावित राजनीतिक उत्तराधिकारीका रूपमा हेरिएका उपराष्ट्रपति जेडी भान्सले पनि राष्ट्रपतिको नीतिप्रति असन्तुष्टि देखाउन थालेका छन्।
भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजय हुनुमा इरान युद्धलाई प्रमुख कारणका रूपमा औँल्याएका छन्। यसले ट्रम्प र उनको प्रशासनभित्र नीतिगत मतभेद बढ्दै गएको संकेत गरेको छ।
पार्टीभित्र ट्रम्पको प्रभाव कमजोर हुँदै गएको निष्कर्ष निकालिएमा अन्य रिपब्लिकन नेताहरूले पनि उनीबाट दूरी कायम गर्न सक्ने राजनीतिक रणनीतिकारहरूको अनुमान छ।
ह्वाइट हाउसमा कर्मचारी फेरबदलको तयारी
निर्वाचन परिणामपछि ह्वाइट हाउसमा कर्मचारी परिवर्तन र सम्भावित मन्त्रिपरिषद् पुनर्गठनको तयारीसमेत भइरहेको छ। डेमोक्र्याटहरूले गर्न सक्ने सम्भावित अनुसन्धानलाई लिएर पनि प्रशासनले तयारी गरिरहेको एक वरिष्ठ अधिकारीले बताएका छन्।
ती अधिकारीका अनुसार चुनावी परिणामपछि ह्वाइट हाउसको वातावरण निराशाजनक बनेको छ। कर्मचारीहरूको मनोबल कमजोर रहेको र प्रशासनभित्र काम गर्न कठिन परिस्थिति सिर्जना भएको उनको भनाइ छ।
चुनाव हुनुभन्दा करिब छ हप्ताअघि नै आन्तरिक सर्वेक्षणहरूले रिपब्लिकन पार्टी दुवै सदनमा पराजित हुन सक्ने संकेत गरेका थिए। तर चुनावी जोखिमबारे चेतावनी दिइए पनि ट्रम्पले इरानसम्बन्धी आफ्नो नीति परिवर्तन गर्न अस्वीकार गरेको ती अधिकारीको दाबी छ।
मंगलबार ट्रम्पले आठ महिनादेखि जारी इरान युद्धले रिपब्लिकन उम्मेदवारहरूको चुनावी नतिजामा असर पारेको स्वीकार गरेका थिए। यद्यपि, युद्ध सुरु गर्ने आफ्नो निर्णयको भने उनले बचाउ गरेका छन्।
ट्रम्पको बलरूम निर्माणप्रति पनि असन्तुष्टि
रिपब्लिकन पार्टीभित्र ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि इरान युद्धमा मात्रै सीमित छैन। ह्वाइट हाउसमा बलरूम निर्माण तथा वासिङ्टनका सरकारी भवनहरूको मर्मतसम्भारमा ट्रम्पले दिएको प्राथमिकताप्रति पनि पार्टीभित्र प्रश्न उठेको छ।
मिशिगन र आयोवाजस्ता राज्यमा गरिएको फोकस समूह छलफलमा रिपब्लिकन तथा स्वतन्त्र मतदाताहरूले यस्ता परियोजनामा राष्ट्रपतिले बढी ध्यान दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
एक रिपब्लिकन राजनीतिक सल्लाहकारले ट्रम्पले आगामी दुई वर्ष पनि यस्तै विषयलाई प्राथमिकता दिए अर्को निर्वाचनमा पार्टीले थप ठूलो पराजय बेहोर्न सक्ने चेतावनी दिएका छन्।
तर ट्रम्पले भने बुधबार पनि बलरूम निर्माणस्थलको भ्रमण गर्दै परियोजनामा आफूले दिएको समयको बचाउ गरेका थिए। उनले यस कामले आफूलाई आराम महसुस गराउने प्रतिक्रिया दिएका थिए।
कार्यकारी अधिकारले मात्रै चुनौती टार्न कठिन
मध्यावधि निर्वाचनमा पराजय बेहोरे पनि ट्रम्पसँग आफ्नो एजेन्डा अघि बढाउन कार्यकारी अधिकार भने कायमै छ। ह्वाइट हाउसले आप्रवासन, कर, आवास र संघीय खर्चसम्बन्धी विभिन्न कार्यकारी निर्णयको तयारी गरिरहेको छ।
यस्ता निर्णयमार्फत डेमोक्र्याटहरूको विरोधका बाबजुद ट्रम्पले आफ्ना केही नीतिहरू कार्यान्वयन गर्न सक्नेछन्। तर कार्यकारी अधिकार प्रयोग गर्दैमा कंग्रेसबाट हुन सक्ने अनुसन्धान र निगरानी रोक्न भने सम्भव हुने छैन।
डेमोक्र्याटहरूले कंग्रेसको नियन्त्रण लिएसँगै ट्रम्प प्रशासनका लागि आगामी दुई वर्ष राजनीतिक रूपमा चुनौतीपूर्ण बन्ने देखिएको छ।
चुनावी पराजय, पार्टीभित्रै बढ्दो असन्तुष्टि र प्रशासनिक दबाबका बीच ट्रम्पले आफ्नो नेतृत्वशैली तथा नीतिगत प्राथमिकतामा कस्तो परिवर्तन ल्याउँछन् भन्ने विषय अमेरिकी राजनीतिमा चासोको केन्द्र बनेको छ।