काठमाडौं । अमेरिकाको सिनेट निर्वाचनमा अब्दुल एल-सयदले ऐतिहासिक सफलता हासिल गरेका छन्। उनी अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम व्यक्ति बनेका छन्।
डेमोक्र्याटिक पार्टीका उम्मेदवार एल-सयदले रिपब्लिकन पार्टीका उम्मेदवार माइक रोजर्सलाई पराजित गर्दै मिसिगनबाट सिनेट निर्वाचन जितेका हुन्। उनको जितलाई अमेरिकी राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
डेट्रोइटमा आयोजित विजय मन्तव्यका क्रममा एल-सयदले मिसिगनका मतदाताप्रति आभार व्यक्त गरे। इजिप्टबाट अमेरिका आएका आप्रवासी परिवारका सन्तान उनले मिसिगनजस्तो महान् राज्यको निर्वाचित सिनेटरका रूपमा उभिन पाउँदा गर्व र सम्मान महसुस भएको बताए।
को हुन् अब्दुल एल-सयद ?
दक्षिणपूर्वी मिसिगनमा जन्मिएका तथा हुर्किएका एल-सयदको पारिवारिक पृष्ठभूमि इजिप्टसँग जोडिएको छ। उनका पिता मोहम्मद इजिप्टबाट अमेरिका आएका आप्रवासी हुन्।
उनले प्रारम्भिक शिक्षा सार्वजनिक विद्यालयबाट हासिल गरेका थिए। त्यसपछि युनिभर्सिटी अफ मिसिगनबाट स्नातक गरेका उनले कोलम्बिया विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरे। उनी प्रतिष्ठित रोड्स स्कलरका रूपमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्नसमेत सफल भए।
चिकित्सकका रूपमा प्रशिक्षित भए पनि एल-सयदले आफ्नो करियर सार्वजनिक सेवामा समर्पित गर्ने निर्णय गरे। डेट्रोइटको स्वास्थ्य विभागलाई पुनः व्यवस्थित गर्ने कामबाट सार्वजनिक सेवामा सक्रिय भएका उनले पछि वेन काउन्टीको स्वास्थ्य, मानव तथा भेट्रान सेवा विभागको पुनर्संरचनाको जिम्मेवारीसमेत सम्हाले।
उनले बालबालिकालाई निःशुल्क चस्मा वितरण, विद्यालयबाट सिसाको जोखिम हटाउने तथा ओपिओइडको अत्यधिक सेवनबाट हुने मृत्यु न्यूनीकरणका लागि नार्कन औषधिको पहुँच विस्तार गर्नेजस्ता सार्वजनिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा योगदान पुर्याएका थिए।
त्यस्तै, उनले दुई वर्षको अवधिमा मिसिगनका करिब तीन लाख मानिसको ७० करोड डलरसम्मको चिकित्सा ऋण मिनाहा गर्ने लक्ष्यसहितको कार्यक्रमको नेतृत्व गरेका थिए।
सार्वजनिक स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका कारण विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका एल-सयदले 'मेडिकेयर फर अल : अ सिटिजन्स गाइड' नामक पुस्तकसमेत लेखेका छन्। सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य सेवासम्बन्धी युनिटी टास्क फोर्समा समेत उनी छनोट भएका थिए।
चिकित्सा क्षेत्रको अनुभव, सार्वजनिक सेवामा सक्रियता र राजनीतिक यात्रामार्फत अघि बढेका एल-सयदको सिनेट प्रवेशले अमेरिकी राजनीतिमा मुस्लिम समुदायको प्रतिनिधित्वका दृष्टिले नयाँ इतिहास बनाएको छ।