काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाले राजनीतिक वृत्तमा तरंग पैदा भइरहेका बेला कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। पार्टीले सरकारको पछिल्लो गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरेको हो।
कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाका अनुसार बैठक आज दिउँसो ३ बजे बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयसँगै सरकारका पछिल्ला कदमबारे पनि छलफल हुने बताइएको छ।
सभापति थापा पक्राउ पर्न सक्ने चर्चालाई कांग्रेसले सरकारद्वारा फैलाइएको अफवाहको संज्ञा दिएको छ। सहमहामन्त्री खतिवडाले सभापति पक्राउ पर्ने कुनै आधार नरहेको दाबी गर्दै कांग्रेसको आवाज कमजोर बनाउन सरकारले यस्तो हल्ला फैलाएको आरोप लगाएका छन्।
खतिवडाले सरकारले चालेका विवादित कदमबारे कांग्रेसले यसअघि नै ६ बुँदे धारणा सार्वजनिक गरिसकेको पनि बताएका छन्।
यसैबीच, कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सामाजिक सञ्जालमार्फत सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। उनले सरकारको हल्ला र भ्रमबाट विचलित नहुने उल्लेख गर्दै प्रहरी लगाएर आफूलाई खोज्नुपर्ने अवस्था नरहेको बताएका छन्।
'सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु', शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।
गगन थापा पक्राउको चर्चासँगै कांग्रेस नेताहरूका सार्वजनिक अभिव्यक्ति र पार्टीले बोलाएको पदाधिकारी बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।