काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले आफ्नो प्रभावशाली प्रदर्शन देखाइरहेका छन्। ब्याटिङदेखि बलिङ र फिल्डिङसम्म नेपाली खेलाडीको प्रदर्शन विदेशी खेलाडीको तुलनामा कमजोर देखिएको छैन। जारी प्रतियोगितामा नेपाली खेलाडीको यही प्रदर्शनले एनपीएलमा स्वदेशी खेलाडीको बढ्दो क्षमता र प्रतिस्पर्धात्मक स्तरलाई समेत उजागर गरेको छ।
राजधानीको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा हालसम्म १३ खेल सम्पन्न भएका छन्। जसमा कुल ११ अर्धशतक प्रहार हुँदा सात अर्धशतक नेपाली खेलाडीको नाममा रहेका छन्। प्रतियोगितामा हालसम्म कुनै पनि खेलाडीले शतक भने बनाउन सकेका छैनन्।
नेपाली खेलाडीमध्ये विराटनगर किङ्सका लोकेश बमले सर्वाधिक दुई अर्धशतक प्रहार गरेका छन्। त्यस्तै, विराटनगरकै इमरान शेख, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, कर्णाली याक्सका कप्तान सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्। विदेशी खेलाडीमध्ये विराटनगरका आन्द्रे रसेल, जनकपुरका मोइन अली र शैफ हसन तथा चितवन राइनोजका डेभिड मलानले अर्धशतक प्रहार गरेका छन्।
प्लेयर अफ दी म्याचमा पनि नेपालीकै वर्चस्व
ब्याटिङमा मात्रै होइन, खेलको नतिजा आफ्नो पक्षमा पार्न महत्वपूर्ण योगदान दिने खेलाडीको सूचीमा पनि नेपाली खेलाडी अगाडि देखिएका छन्। हालसम्म सम्पन्न १३ खेलमध्ये वर्षाका कारण एउटा खेल रद्द भएको छ। बाँकी १२ खेलमा आठ पटक नेपाली खेलाडी प्लेयर अफ दी म्याच घोषित भएका छन् भने चार पटक विदेशी खेलाडीले उक्त अवार्ड जितेका छन्।
लुम्बिनीका शेर मल्ल, चितवनका कमलसिंह ऐरी, कर्णालीका सोमपाल कामी र युनिश विक्रम सिंह, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, जनकपुरका राहुल यादव र तृतराज दास तथा काठमाडौंका कप्तान करण केसीले प्लेयर अफ दी म्याचको पुरस्कार प्राप्त गरेका छन्।
विदेशी खेलाडीमध्ये सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन, विराटनगरका आन्द्रे रसेल र लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले यो अवार्ड जितेका छन्। रसेलले भने दुई खेलमा प्लेयर अफ दी म्याचको पुरस्कार हात पारेका छन्।
सर्वाधिक रन र व्यक्तिगत उच्च स्कोरमा लोकेश बम
प्रतियोगिताको ब्याटिङतर्फ पनि नेपाली खेलाडीले अग्रता कायम राखेका छन्। विराटनगर किङ्सका लोकेश बम हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। चार खेलमा दुई अर्धशतकसहित उनले १८८ रन बनाएका छन्।
व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडीको सूचीमा पनि लोकेश नै शीर्ष स्थानमा छन्। उनले एकै खेलमा ८७ रन बनाएका छन्। त्यस्तै, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा पनि उनी अगाडि छन्। लोकेशले हालसम्म १६ छक्का र ११ चौका प्रहार गरिसकेका छन्।
सर्वाधिक रन बनाउने सूचीमा विराटनगरकै विदेशी खेलाडी आन्द्रे रसेल १४१ रनसहित दोस्रो स्थानमा छन्। कर्णालीका अरिफूल इस्लाम ११९ रनसहित तेस्रो, जनकपुरका शैफ हसन ११२ रनसहित चौथो र मोइन अली १०८ रनसहित पाँचौँ स्थानमा छन्।
विकेटमा विदेशीको अग्रता, क्याचमा नेपाली खेलाडी अगाडि
बलिङतर्फ भने विदेशी खेलाडीले आफ्नो प्रभाव देखाएका छन्। जनकपुर बोल्ट्सका मोइन अली सात विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्। समान सात विकेट लिएका विराटनगरका एन्जेलो म्याथ्यूज दोस्रो र कर्णालीका कप्तान सोमपाल कामी तेस्रो स्थानमा छन्।
त्यस्तै, सुदूरपश्चिमका अनिल खरेल र जनकपुरका कप्तान हर्मित सिंहले समान ६ विकेट लिएका छन्।
फिल्डिङतर्फ भने नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट देखिएको छ। कर्णालीका गुल्सन झाले हालसम्म सर्वाधिक पाँच क्याच समातेका छन्। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका राहुल यादवले समान चार क्याच लिएका छन्।
उच्च स्कोर र साझेदारीमा पनि रोचक प्रतिस्पर्धा
टोलीगत प्रदर्शनतर्फ कर्णाली याक्सले सबैभन्दा उच्च स्कोर बनाएको छ। कर्णालीले एकै इनिङमा १८७ रन बनाएको छ। अर्कोतर्फ, सुदूरपश्चिम रोयल्सको नाममा प्रतियोगिताकै न्यून स्कोर रहेको छ। वर्षाका कारण पाँच ओभरमा छोट्याइएको विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले ७० रन बनाएको थियो।
व्यक्तिगत प्रदर्शनसँगै साझेदारीमा पनि विराटनगरका खेलाडी अगाडि छन्। विराटनगरका लोकेश बम र इमरान शेखबीच जनकपुर बोल्ट्सविरुद्ध भएको १०७ रनको साझेदारी प्रतियोगिताकै उच्च साझेदारी बनेको छ।
अंकतालिकामा लुम्बिनी शीर्ष स्थानमा
आठ टोली सहभागी प्रतियोगिताको अंकतालिकामा हाल लुम्बिनी लायन्स पाँच अंकसहित पहिलो स्थानमा छ। समान चार अंक भएका विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।
त्यस्तै, चितवन राइनोज छैटौँ, काठमाडौं गोर्खाज सातौँ र पोखरा एभेन्जर्स अंकतालिकाको पुछारमा छन्।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन भइरहेको तेस्रो संस्करणको एनपीएल आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।