काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनमा सीमित भयो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा तीन छक्का प्रहार गरे । आदित्य महताले अविजित ३० रन जोड्दा सैफ हसनले २८ र त्रित राज दासले १८ रन बनाए । जनकपुरको ब्याटिङ सुरुवातदेखि नै दबाबमा परेको थियो । एक समय ५६ रनमै ६ विकेट गुमाएको जनकपुरलाई हरमित सिंह र आदित्य महताले सम्हाल्ने प्रयास गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
लुम्बिनीका लागि डार्सी शर्टले तीन विकेट लिए । तिलक भण्डारी र शेर मल्लले समान दुई तथा रुबेन ट्रम्पलम्यानले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै, निरोशन डिकवेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।
जनकपुरका लागि विशाल सुशलिङ र राहुल यादवले समान दुई विकेट लिए । ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले एक-एक विकेट हात पारे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनीका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए । यस जितसँगै लुम्बिनीले महत्वपूर्ण दुई अंक जोडेको छ भने जनकपुरले अंकतालिकामा थप अंक जोड्न सकेन ।