काठमाडौं । युरोपेली मुलुकहरूको आकाशमा पछिल्लो समय बम आतंक फैलिएको छ । युरोपका विभिन्न देशमा उडान भर्ने र त्यहाँबाट उडान गर्ने कम्तीमा २१ वटा यात्रुवाहक विमान तथा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी बम विस्फोटको झूटो धम्की दिइएको छ । लगातार आइरहेका यस्ता धम्कीका कारण युरोपेली उड्डयन क्षेत्रको सुरक्षा व्यवस्थामाथि गम्भीर चुनौती थपिएको छ ।
यो साता मात्रै युरोपेली आकाशमा देखिएको यो दोस्रो ठूलो घटना हो । धम्कीपछि विभिन्न देशमा सुरक्षा सतर्कता बढाइएको छ भने कतिपय विमानको उडान मार्ग परिवर्तन गरिएको छ । केही विमानलाई आकस्मिक रूपमा अन्य विमानस्थलमा अवतरण गराइएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न देशका लडाकु विमानसमेत परिचालन गर्नुपरेको थियो ।
अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फ्रान्स, इटाली, पोल्यान्ड र रोमानियासँग सम्बन्धित उडानहरू यसबाट प्रभावित भएका छन् । यद्यपि, सुरक्षा निकाय र बम डिस्पोजल टोलीले विभिन्न विमानमा गरेको विस्तृत जाँचका क्रममा अहिलेसम्म कुनै पनि विस्फोटक पदार्थ फेला परेको छैन ।
घटनाक्रममध्ये सबैभन्दा चर्चित आयरल्यान्डको राजधानी डब्लिनबाट इटालीको रोमका लागि उडेको एयर लिंगसको विमान हो । बमको धम्की आएपछि उक्त विमानलाई फ्रान्सको नर्मन्डीस्थित इभ्रेक्स–फौभिल सैनिक हवाई अखडामा आकस्मिक अवतरण गराइएको थियो । विमान अवतरण गराउनुअघि फ्रान्सेली आकाशमा सुरक्षा निगरानीका लागि लडाकु विमान परिचालन गरिएको थियो ।
त्यस्तै, फिनल्यान्डको हेल्सिन्कीबाट रोमका लागि उडेको फिनएयरको विमानलाई पनि इटालीका लडाकु विमानले सुरक्षा पहरा दिएका थिए । त्यसपछि उक्त विमानलाई रोम विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो ।
बेलायतबाट चेक गणतन्त्रको राजधानी प्राग पुगेका इजीजेटका दुई विमानलाई समेत पूर्वसावधानीस्वरूप रनवेमै रोकेर प्रहरीले जाँच गरेको थियो । न्युकासल र ग्लासगोबाट उडेका ती विमानमा सुरक्षा जाँच गरिएको थियो । बेलायतको व्यस्त लन्डन हिथ्रो र बर्मिंघम विमानस्थललाई समेत बमको धम्की आएको थियो । तर प्रारम्भिक सुरक्षा मूल्यांकनपछि ती धम्की आधारहीन रहेको निष्कर्ष निकालिएको थियो ।
इटालीको रोम विमानस्थल प्रशासनका अनुसार, इटाली आउँदै गरेका दुई उडानलाई लक्षित गरी इमेलमार्फत धम्की पठाइएको थियो । उक्त इमेलमा आफूलाई ‘फाइटर्स अफ द मेल स्टेट’ दाबी गर्ने समूह वा व्यक्तिको हस्ताक्षर रहेको बताइएको छ । सन्देशमा विमान विस्फोट गराउने र आकाशलाई रातो बनाइदिने जस्ता हिंसात्मक चेतावनी दिइएको थियो ।
सुरक्षा विज्ञहरूले उक्त समूहको सम्बन्ध रुसको उग्रदक्षिणपन्थी समूह ‘मुझस्कोइ लेजियन’सँग हुन सक्ने आशंका गरेका छन् । तर धम्की दिने व्यक्ति वा समूहको वास्तविक पहिचान र उद्देश्यबारे अनुसन्धान जारी छ ।
यस घटनाले विमानमा यात्रा गरिरहेका यात्रुहरूलाई समेत त्रसित बनाएको छ । डब्लिनबाट रोम जाँदै गरेकी २६ वर्षीया एमिली नोबलले विमानभित्रको अनुभव निकै डरलाग्दो रहेको बताएकी छन् । उनका अनुसार उडान भरेको करिब एक घण्टापछि चालक दलले सुरुमा प्राविधिक समस्या आएको जानकारी दिएका थिए । तर विमान फ्रान्सको आकाशमा असामान्य रूपमा घुम्न थालेपछि पाइलटले सुरक्षासम्बन्धी समस्या रहेको बताएका थिए ।
विमान अवतरण गर्ने क्रममा उनले झ्यालबाट लडाकु विमानहरूको आवाजसमेत सुनेकी थिइन् । फ्रान्सको सैनिक हवाई अखडामा अवतरण गरेपछि मात्रै यात्रुहरूले विमानमा बमको धम्की आएको थाहा पाएका थिए । सुरक्षा टोलीले तालिमप्राप्त कुकुरसहित विमानको जाँच गर्दा यात्रुहरूलाई करिब साढे दुई घण्टासम्म विमानभित्रै राखिएको थियो । पछि उनीहरूलाई बसमार्फत पेरिस पुर्याएर अर्को विमानबाट रोम पठाइएको थियो ।
बेलायतकी यातायातमन्त्री हाइडी अलेक्जेन्डरले घटनालाई दुर्भावनापूर्ण अफवाहको संज्ञा दिँदै सरकार यस्ता धम्कीलाई गम्भीरतापूर्वक लिइरहेको बताएकी छन् । लन्डन हिथ्रो विमानस्थलले पनि सुरक्षा जाँचपछि धम्की विश्वसनीय नरहेको र यात्रु, कर्मचारी तथा विमानहरू सुरक्षित रहेको जनाएको छ ।
तर उड्डयन सुरक्षा विज्ञहरूले लगातार आउने झूटो धम्कीलाई सामान्य रूपमा लिन नहुने चेतावनी दिएका छन् । कोभेन्ट्री विश्वविद्यालयका उड्डयन सुरक्षा प्राध्यापक फिलिप बाउमका अनुसार यस साताको घटनाक्रम असामान्य र चिन्ताजनक छ । बारम्बार झूटो धम्की आउँदा सुरक्षा निकायमा सतर्कता घट्न सक्ने र भविष्यमा वास्तविक खतरासमेत बेवास्ता हुन सक्ने उनको चिन्ता छ ।
त्यस्तै, किंगस्टन विश्वविद्यालयका उड्डयनविज्ञ मार्को चानले यस्ता धम्की हवाई यातायातमा अवरोध सिर्जना गर्ने सस्तो रणनीति हुन सक्ने बताएका छन् । यद्यपि, धम्की झूटो भए पनि सुरक्षा निकायले त्यसलाई वास्तविक खतराकै रूपमा लिएर आवश्यक जाँच गर्नु उचित हुने उनको तर्क छ ।
युरोपमा यो साता मात्रै पटक–पटक यस्ता घटना दोहोरिएका छन् । यसअघि मंगलबार बेलायतबाट उडेका दुईसहित सातवटा विमानमा बमको धम्की आएपछि सुरक्षा जाँच गरिएको थियो । सोमबार लन्डनको लुटन विमानस्थलबाट बुल्गेरियाको सोफियाका लागि उडेको विज एयरको विमानलाई पनि बमको धम्कीपछि हंगेरीको लडाकु विमानले सुरक्षा पहरा दिँदै बुडापेस्टमा आकस्मिक अवतरण गराएको थियो ।
लगातार दोहोरिएका यस्ता घटनाले युरोपेली मुलुकका विमानस्थल, सुरक्षा निकाय र गुप्तचर संयन्त्रमाथि नयाँ चुनौती खडा गरेका छन् । धम्की दिने समूहको पहिचान हुन नसक्नु र विभिन्न देशका उडानलाई एकैपटक प्रभावित पार्ने घटनाक्रमले युरोपेली उड्डयन सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ ।