काठमाडौं । तिहारको अवसर पारेर नेपाली फिल्म ‘पाँच पाण्डव’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । महाभारतका पात्रहरूलाई बिम्बका रूपमा प्रस्तुत गर्दै निर्माण गरिएको फिल्मले एकल नेपाली फिल्मका रूपमा प्रदर्शनको अवसर पाए पनि व्यापारिक प्रतिस्पर्धामा भने भारतीय फिल्म ‘रामायण’को चुनौती सामना गर्नुपर्ने देखिएको छ ।
बिहीबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘रामायण’ले नेपालका सिनेमा हलमा आक्रामक व्यापार गरिरहेका बेला ‘पाँच पाण्डव’ हलमा उत्रिएको हो । नेपाली फिल्मले एकल रिलिजको अवसर पाए पनि दर्शकको आकर्षण र बक्स अफिसमा आफ्नो स्थान बनाउन कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ प्रदर्शनअघि नै विभिन्न कारणले चर्चामा छ । विशेषगरी फिल्मको पोस्टरमा द्रौपदीको रूपमा चिनाइएकी अभिनेत्री इभा गिरीलाई ‘राजा चाहियो छ’ गीतमा बोल्ड अवतारमा प्रस्तुत गरिएपछि फिल्म विवादमा तानिएको हो । सामाजिक सञ्जालमा गीत र त्यसमा प्रस्तुत गरिएको दृश्यलाई लिएर आलोचना भइरहेको छ ।
महाभारतजस्तो धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको फिल्ममा द्रौपदीको पात्रलाई प्रस्तुत गर्ने शैलीप्रति प्रश्न उठेपछि विवाद थप चर्किएको हो । तर, निर्माण पक्षले भने फिल्मले कुनै पनि धर्म, संस्कृति र धार्मिक आस्थामाथि चोट नपुर्याउने दाबी गर्दै आएको छ ।
विवादकै बीच फिल्मको प्रदर्शन रोक्ने प्रयाससमेत भएको थियो । गृह मन्त्रालयको ठाडो आदेशमा प्रदर्शन रोक्न खोजिएपछि चलचित्र क्षेत्रका व्यक्तिहरूले त्यसप्रति आपत्ति जनाएका थिए । केन्द्रीय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड०बाट प्रदर्शन अनुमति पाइसकेको फिल्मलाई रोक्न नमिल्ने भन्दै फिल्मकर्मीले आवाज उठाएपछि बिहीबार सञ्चार मन्त्रालयमा छलफल भएको थियो ।
उक्त छलफलपछि फिल्मलाई निर्बाध रूपमा प्रदर्शन गर्न दिने सहमति जुटेको थियो । त्यससँगै प्रदर्शन अन्योलमा परेको ‘पाँच पाण्डव’ अन्ततः शुक्रबारदेखि दर्शकमाझ आएको हो ।
द्वापरयुग र कलियुगको कथालाई जोडेर निर्माण गरिएको फिल्ममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ । हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार र नीरज पन्थीलगायत कलाकार फिल्ममा देखिएका छन् ।
फिल्मको निर्माण काली रानी श्रेष्ठले गरेकी हुन् भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन् ।
यसरी विवाद, सरकारी हस्तक्षेपको प्रयास र प्रदर्शन अन्योल पार गर्दै हलमा पुगेको ‘पाँच पाण्डव’का लागि अब वास्तविक परीक्षा दर्शकको प्रतिक्रिया र बक्स अफिसमा देखिनेछ । धार्मिक विषयवस्तु, कलाकारको उपस्थिति र विवादले सिर्जना गरेको चर्चालाई फिल्मले दर्शकको आकर्षणमा बदल्न सक्छ वा सक्दैन भन्ने चासो बढेको छ ।