काठमाडौं । निर्वाचनमा जनताले दिएको अभूतपूर्व जनमतलाई शक्तिको उन्मादमा परिणत नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नै नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन्। जनताले विश्वास गरेर १८२ सिटसहित मुलुकको जिम्मेवारी सुम्पिएको भन्दै उनले त्यसको दुरुपयोग गरेर जनतालाई नै दुःख दिने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
चितवन पुगेका सभापति लामिछानेले नेता-कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीका तल्लो तहदेखि माथिल्लो तहसम्मका व्यक्तिमा शक्तिको उन्माद देखिन थालेको टिप्पणी गरे। हिजो सामान्य अवस्थामा पार्टीका नेता-कार्यकर्ताले भोगेको अपमान र दुःखलाई सम्झिँदै उनले आज त्यही शक्तिको आडमा अरूमाथि अन्याय गर्ने प्रवृत्ति देखिए त्यो राजनीतिक चरित्रको गम्भीर विचलन हुने बताए।
लामिछानेले विगतमा पार्टीका नेता-कार्यकर्तालाई विभिन्न मुद्दा लगाउने, व्यापार-व्यवसायमा अवरोध सिर्जना गर्ने तथा अनुगमनका नाममा दुःख दिने काम भएको स्मरण गरे। तर, अहिले आफूहरू सत्तामा पुगेपछि त्यसको बदला लिन खोज्ने र पार्टीको नाम भजाएर प्रशासन तथा प्रहरीमाथि दबाब सिर्जना गर्ने काम नगर्न उनले सचेत गराए।
उनले जनताको मत ठालु पल्टिन वा अरूमाथि शासन गर्नका लागि नभई जिम्मेवारीपूर्वक काम गर्नका लागि प्राप्त भएको बताए। जनताको विश्वासलाई व्यक्तिगत स्वार्थ र शक्तिको प्रदर्शनमा प्रयोग गर्ने छुट कसैलाई नरहेको उनको भनाइ थियो।
‘जनताले दिएको अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ,’ लामिछानेले भने, ‘जब तपाईँलाई सर्वाधिक शक्ति मिल्दछ, त्यतिबेला नै तपाईँले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप गर्न जरुरी हुन्छ।’
उनले नेता-कार्यकर्तालाई आफ्नो धरातल नबिर्सन पनि आग्रह गरे। चुनाव जित्दैमा आफूहरू अरूभन्दा फरक वा विशेष नभएको भन्दै लामिछानेले जनताले दिएको जिम्मेवारीलाई विनम्रतापूर्वक निर्वाह गर्नुपर्ने बताए।
‘हामी कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ, हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ,’ उनले भने, ‘हामीले भुईँ टेक्नुपर्छ, भुईँ छोड्नुहुँदैन। जनताले हामीलाई हेरिरहेका छन्।’
शक्ति प्राप्त भएपछि झन् बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै लामिछानेले जनतालाई असहज हुने कुनै पनि गतिविधि नगर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। उनको यो अभिव्यक्तिले रास्वपाभित्र बढ्न सक्ने शक्ति दुरुपयोग र कार्यकर्ताको व्यवहारप्रति पार्टी नेतृत्वको चासो तथा सचेततालाई समेत संकेत गरेको छ।