काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अहिले क्रिकेट प्रतियोगितामा मात्रै सीमित छैन । विश्व क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत नयाँ अवसर सिर्जना गरेको छ ।
अष्ट्रेलियाका डेविड वार्नर, दक्षिण अफ्रिकाका डेविड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी नेपाल आएपछि प्रतियोगिताको चर्चा विश्व क्रिकेट वृत्तमा बढेको छ । अझ उनीहरूले नेपालमा बिताएका क्षण, प्राकृतिक दृश्य र नेपाली आतिथ्यताबारे सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर तथा भिडियोले नेपालको सुन्दरता विश्वभर पुर्याउन सहयोग गरिरहेका छन् ।
विश्वभर लाखौँ समर्थक भएका यी खेलाडीले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक विविधता र नेपालीको आत्मीय व्यवहारको प्रशंसा गरिरहेका छन् । उनीहरूका सामाजिक सञ्जाल पोस्टले नेपालप्रति विदेशी क्रिकेट समर्थक तथा सम्भावित पर्यटकको चासो बढाउने अपेक्षा गरिएको छ ।
अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नर हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर क्षेत्रको अवलोकन गर्न पुगेका थिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रत्यक्ष दृश्य देखेपछि उनी निकै प्रभावित बने । उनले आफ्नो अनुभव सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रशंसा गरेका छन् ।
वार्नरले सगरमाथा देख्दाको अनुभवलाई शब्दमा बयान गर्न कठिन रहेको बताएका छन् । तस्बिर र भिडियोले समेत नेपालको वास्तविक सुन्दरतालाई पूर्ण रूपमा प्रस्तुत गर्न नसक्ने उनको भनाइ छ । उनले यस्तो अनुभवले संसार कति विशाल र अद्भुत छ भन्ने महसुस गराउने उल्लेख गरेका छन् ।
वार्नरले अर्को भिडियोमार्फत नेपालीहरूको आतिथ्य, सरलता र क्रिकेटप्रतिको प्रेमको पनि प्रशंसा गरेका छन् । नेपाल प्राकृतिक सुन्दरताका कारण मात्र नभई यहाँका मानिसहरूको व्यवहार र आत्मीयताका कारण पनि विशेष लागेको उनले बताएका छन् ।
पहिलोपटक नेपाल आएका वार्नर यसपटक एनपिएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेलिरहेका छन् । दुई खेल खेलिसकेका उनले ब्याटिङमा प्रभावशाली प्रदर्शनसमेत गरेका छन् । अष्ट्रेलियालाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वार्नरको सहभागिताले प्रतियोगिताप्रति अन्तर्राष्ट्रिय क्रिकेटप्रेमीको चासो थप बढाएको छ ।
त्यस्तै, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर पनि नेपालको प्राकृतिक सुन्दरता र क्रिकेट वातावरणबाट प्रभावित भएका छन् । पहिलोपटक नेपाल आएका मिलरले यहाँका हिमाली दृश्य र वातावरणको प्रशंसा गर्दै आगामी दुईदेखि तीन साता नेपालमा बिताउन पाउँदा उत्साहित रहेको बताएका छन् ।
मिलरले नेपाललाई सुन्दर देशको संज्ञा दिँदै यहाँको प्राकृतिक दृश्य र हिमालले आफूलाई लोभ्याएको बताएका छन् । उनले नेपाली क्रिकेटको तीव्र विकास र समर्थकहरूको उत्साहको समेत प्रशंसा गरेका छन् ।
नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले यहाँका मानिसहरूको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जालाई प्रशंसनीय बताएका छन् । नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको उनको विश्वास छ ।
मिलर यस सिजनको एनपिएलमा कर्णाली याक्सबाट खेलिरहेका छन् । प्रतियोगिताको आफ्नो पहिलो खेलमै अविजित ९३ रनको प्रभावशाली पारी खेलेपछि उनी नेपाली दर्शकको थप आकर्षण बनेका छन् ।
यसैगरी, बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले पनि नेपालका विभिन्न स्थान र गतिविधिसम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । उनका पोस्टले अन्तर्राष्ट्रिय क्रिकेट समर्थकमाझ नेपालबारे थप चासो सिर्जना गरिरहेका छन् ।
एनपिएलमा विदेशी खेलाडीको सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको मञ्चमा चिनाउने अवसर दिएको छ । मैदानमा उनीहरूको प्रदर्शनसँगै मैदानबाहिरका गतिविधि र व्यक्तिगत अनुभवले पनि नेपालको प्रचार भइरहेको छ ।
विशेषगरी सामाजिक सञ्जालको व्यापक पहुँचका कारण विश्वचर्चित खेलाडीले नेपालका पर्यटकीय गन्तव्यबारे सार्वजनिक गर्ने एउटा तस्बिर वा भिडियो पनि लाखौँ मानिससम्म पुग्न सक्छ । यसले नेपालको पर्यटन सम्भावना उजागर गर्नुका साथै भविष्यमा विदेशी पर्यटकको आगमन बढाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यसरी एनपिएलले नेपाली क्रिकेटको स्तर र लोकप्रियता विस्तार गर्ने माध्यम मात्र नभई नेपालको प्राकृतिक सुन्दरता, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने प्रभावकारी अवसरसमेत प्रदान गरिरहेको छ ।