काठमाडौं । नेपाली फिल्मको दसैँ बक्स अफिसमा ‘कबड्डी ५’ले आफ्नो दबदबा कायम राखेको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै दसैँमा प्रदर्शन भएका फिल्ममध्ये पहिलो स्थान हासिल गरेको हो।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार कात्तिक २२ गतेसम्म ‘कबड्डी ५’ले १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मका अहिलेसम्म ४ लाख ५ हजार ८८४ टिकट बिक्री भएका छन्।
दसैँमा प्रदर्शन भएका फिल्ममध्ये सर्वाधिक कमाइ गर्ने सूचीमा दोस्रो स्थानमा ‘आ बाट आमा २’ रहेको छ। असोज ३० गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले कात्तिक २२ गतेसम्म ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मका २ लाख ३७ हजार ३०७ टिकट बिक्री भएका छन्। यसको व्यापार ७ करोड रुपैयाँ नजिक पुगेको छ।
यता, दीपकराज गिरी समूहको फिल्म ‘छ माया छपक्कै २’ भने अपेक्षाअनुसार व्यापार गर्न असफल देखिएको छ। फिल्मले ३ करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ मात्र ग्रस कमाइ गरेको छ। यसका १ लाख ६ हजार ६४४ टिकट बिक्री भएका छन्। पहिलो भागले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको तुलनामा दोस्रो भागको व्यापार निकै कमजोर देखिएको हो।
त्यस्तै, अर्को प्रतीक्षित फिल्म ‘१२ गाउँ २’ पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न असफल भएको छ। फिल्मले २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ ग्रस कमाइ गर्दा ७५ हजार ५४० टिकट मात्र बिक्री भएका छन्। यसको पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोड रुपैयाँ कमाएको थियो।
दसैँमा प्रदर्शन भएका चार फिल्मको व्यापारमा ठूलो अन्तर देखिँदा ‘कबड्डी ५’ र ‘आ बाट आमा २’ दर्शकको रोजाइमा अगाडि देखिएका छन्।
यसैबीच, चलचित्र विकास बोर्डको विवरणअनुसार ‘गौँथली’ले २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ ग्रस कमाइ गरेको छ। यो फिल्म यस वर्षकै सर्वाधिक कमाइ गर्ने तथा नेपाली चलचित्र इतिहासमा दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
त्यस्तै, ‘पेन्सन पट्टा’ले १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस व्यापार गरेका छन्।