काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका २८ लाख २७ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रजातिका फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ। पूर्वी तथा मधेशका सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल बरामद गरेर खाल्डो खनी पुरिएको हो।
सशस्त्र प्रहरी बलका अनुसार झापाको भद्रपुर नगरपालिका-८ स्थित देवीबस्तीबाट मात्रै २५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरका फूल बरामद गरिएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले २२ लाख ६८ हजार ४ सय रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्री माला र दुई लाख ९५ हजार रुपैयाँ बराबरका १२ बोरा कमलको फूल नियन्त्रणमा लिएको हो।
बरामद गरिएका ती फूल स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सशस्त्र प्रहरी गण परिसरभित्र खाल्डो खनेर पुरिएको छ।
यसैगरी धनुषाका विभिन्न सीमा क्षेत्रबाट पनि ठूलो परिमाणमा अवैध फूल बरामद गरिएको छ। बिओपी देवडिहाबाट खटिएको गस्ती टोलीलाई देखेपछि दुईवटा मोटरसाइकलमा फूल ल्याउँदै गरेका तस्करहरू मोटरसाइकल र फूल छाडेर फरार भएका थिए। त्यहाँबाट ९१ हजार रुपैयाँ बराबरको १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरको ३० केजी रजनिगन्धा बरामद गरिएको थियो।
त्यस्तै, कात्तिक २२ गते बिहान बिओपी फुलगामाको टोलीलाई देखेपछि तस्करहरूले सीमा क्षेत्रमा छाडेर भागेको २०० केजी सयपत्री फूल पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त फूलको मूल्य करिब एक लाख ४० हजार रुपैयाँ रहेको छ।
धनुषाका दुवै स्थानबाट बरामद गरिएका फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि तथा स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको हो।
तिहार र छठजस्ता पर्वका बेला भारतीय फूलको अवैध आयात बढ्न सक्ने भन्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको छ। नेपाली किसानले उत्पादन गरेका फूलले बजार पाउन सकून् र अवैध आयात निरुत्साहित होस् भन्ने उद्देश्यले निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
तर, एकातिर नेपाली किसानले उत्पादन गरेका फूललाई बजारमा स्थापित गर्ने चुनौती छ भने अर्कोतिर सीमाबाट हुने अवैध आयात नियन्त्रण गर्नु राज्यका लागि उत्तिकै महत्त्वपूर्ण बनेको छ।