काठमाडौं । ओमानमा जारी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालको खराब प्रदर्शनले निरन्तरता पाएको छ। प्रतियोगितामा लगातार दुई हार बेहोर्दै समूह चरणबाट बाहिरिसकेको नेपालले तेस्रो खेलमा पनि पाकिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ।
मंगलबार भएको खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो। पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४३ ओभर ४ बलमा १७४ रनमै समेटियो।
नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए। तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो। पाकिस्तानका अहमद हुसेनले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको थियो। पाकिस्तानका अहमद हुसेनले ८९ तथा कप्तान फरहान युसुफले ७४ रनको महत्वपूर्ण योगदान दिए।
नेपालका कप्तान विपिनप्रसाद शर्माले तीन तथा सुशीलबहादुर रावलले दुई विकेट लिए।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भारतसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई०सँग सात विकेटले पराजित भएपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको थियो।
यता, पाकिस्तान भने लगातार तीन खेलमा जित निकाल्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले पहिलो खेलमा यूएईलाई नौ विकेट र दोस्रो खेलमा भारतलाई तीन विकेटले हराएको थियो।
समूह ‘ए’बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो भारत र यूएईबीच जारी खेलबाट लाग्नेछ। समूह ‘बी’बाट भने अफगानिस्तान अपराजित रहँदै शीर्ष स्थानमा र बंगलादेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेका छन्।
यससँगै एसिया कपमा नेपालको यात्रा तीन खेलमा तीन हारसहित निराशाजनक रूपमा समाप्त भएको छ।