एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुनसक्ने संकेत देखिएसँगै विश्व बजारमा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको मूल्य अगस्टयता पहिलोपटक ९० डलरभन्दा तल पुगेको छ। ब्रेन्ट क्रुडको मूल्य ३.१ प्रतिशतले घट्दै प्रतिब्यारेल ८९.६६ डलरमा सीमित भएको छ।
त्यस्तै, अमेरिकी बजारको प्रमुख मानक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.८६ डलरमा झरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए। सोमबार उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा युद्ध मत्थर हुने र तेल आपूर्तिमा देखिएको अनिश्चितता कम हुने अपेक्षा बढेको हो।
यद्यपि, ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावनालाई भने अस्वीकार गरेका छैनन्। यसले युद्ध पूर्ण रूपमा अन्त्य हुने विषयमा अझै अन्योल कायम रहेको देखाउँछ।
मध्यपूर्वमा जारी द्वन्द्वले विश्व ऊर्जा बजारमा अनिश्चितता बढाउँदै आएको थियो। विशेषगरी तेल आपूर्ति र ढुवानीमा अवरोध आउन सक्ने चिन्ताका कारण कच्चा तेलको मूल्यमा दबाब परेको थियो। तर, युद्ध अन्त्य हुने सम्भावनासँगै लगानीकर्ताको चिन्ता केही कम हुँदा तेलको मूल्य घटेको हो।
यद्यपि, युद्धको अवस्था र मध्यपूर्वको ऊर्जा आपूर्तिमा हुने परिवर्तनले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य कस्तो रहने भन्ने निर्धारण गर्नेछ।