एजेन्सी । रुस र युक्रेनबीच जारी युद्ध थप चर्किँदै गएको छ। पछिल्लो समय दुवै देशले एकअर्काका ऊर्जा पूर्वाधार, बन्दरगाह, रेलमार्ग तथा सैन्य संरचनालाई निशाना बनाउन थालेका छन्। शुक्रबार सार्वजनिक विवरणअनुसार रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमा ड्रोन आक्रमण गरेको छ भने युक्रेनले रुसी भूभागमा रहेका ड्रोन उत्पादन तथा सञ्चालन केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले पछिल्लो एक सातामा युक्रेनका सैन्य उद्योग, लजिस्टिक केन्द्र तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी दुईवटा ठूलो स्तरका आक्रमण र १२ वटा समूहगत आक्रमण गरेको छ। रुसी पक्षले हतियार ढुवानी गरिरहेका युक्रेनका १५ वटा मालवाहक पानीजहाजमा समेत आक्रमण गरेको दाबी गरेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा खार्किभ र सुमी क्षेत्रका दुईवटा बस्ती आफ्नो नियन्त्रणमा लिएको पनि रुसी रक्षा मन्त्रालयले जनाएको छ। युक्रेनको सैन्य आपूर्ति प्रणाली र ऊर्जा संरचनालाई कमजोर बनाउने उद्देश्यले आक्रमण तीव्र पारिएको रुसी पक्षको दाबी छ।
यता, युक्रेनको सशस्त्र सेनाको जनरल स्टाफले शुक्रबार बिहान रुसको रोस्तोभ-अन-डन क्षेत्रमा रहेका तीनवटा ड्रोन केन्द्रमा आक्रमण गरेको जनाएको छ। युक्रेनी नौसेनाले आर-३६० नेप्च्युन क्षेप्यास्त्र प्रणाली प्रयोग गरी ती केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ।
युक्रेनी सेनाका अनुसार पछिल्लो २४ घण्टामा युद्धको अग्रपंक्तिमा १७५ वटा भिडन्त भएका छन्। युक्रेनी वायुसेना, क्षेप्यास्त्र बल र तोपखानाले रुसी सैनिक भेला भएका क्षेत्र तथा ड्रोन नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ।
पछिल्लो घटनाक्रमले रुस-युक्रेन युद्ध अब परम्परागत सैन्य मोर्चामा मात्र सीमित नरही ऊर्जा, यातायात र आधुनिक ड्रोन प्रविधिसँग जोडिएका रणनीतिक संरचनासम्म विस्तार भएको देखाएको छ। दुवै पक्षले एकअर्काको सैन्य क्षमता र आपूर्ति प्रणाली कमजोर पार्ने प्रयास तीव्र बनाइरहेका छन्।
यद्यपि, दुवै देशले सार्वजनिक गरेका सैन्य सफलता र क्षतिको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। युद्ध लम्बिँदै जाँदा दुवै पक्षका रणनीतिक पूर्वाधारमाथि आक्रमण बढ्ने र त्यसको असर सर्वसाधारण तथा क्षेत्रीय सुरक्षामा समेत पर्न सक्ने चिन्ता बढेको छ।