काठमाडौं । तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ व्यावसायिक रूपमा असफल भएको छ। प्रदर्शनको दोस्रो सातामै फिल्म देशभरका हलमा जम्मा तीनवटा शोमा सीमित भएपछि यसको व्यापारिक अवस्था निराशाजनक देखिएको हो।
फिल्मको असफलतासँगै निर्देशक वसन्त निरौलाले भने यसलाई आफ्नो फिल्मी यात्राको अन्त्य नभई अझ सशक्त सुरुवातका रूपमा व्याख्या गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो भावुक स्टाटस लेख्दै उनले फिल्म असफल भए पनि सिर्जनाप्रतिको आफ्नो विश्वास र संघर्ष गर्ने साहस नटुटेको बताएका हुन्।
निर्देशक निरौलाका अनुसार ‘पाँच पाण्डव’ महिनौँको मेहनत, सपना, संघर्ष, त्याग र समर्पणको परिणाम हो। एउटा सिर्जनासँग निर्देशकको मात्रै नभई त्यसमा संलग्न सम्पूर्ण टिमको सपना जोडिएको हुने उनको भनाइ छ।
फिल्म प्रदर्शनअघि एउटा गीतलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो। प्रदर्शनपूर्वको यही विवादलाई फिल्मको व्यावसायिक असफलताको एउटा प्रमुख कारणका रूपमा हेरिएको छ।
निर्देशक निरौलाले सिर्जनामाथि आलोचना हुनु स्वाभाविक भए पनि सिर्जना नहेरी, वास्तविकता नबुझी र सत्यतथ्य नकेलाई गरिने टिप्पणीले सम्पूर्ण टिमको मेहनत र सिर्जनशीलतामाथि चोट पुर्याउने बताएका छन्।
‘आज मन दुखेको छ, तर हिम्मत टुटेको छैन,’ उनले लेखेका छन्। प्रतिकूल परिस्थितिले सिर्जनाप्रतिको विश्वास कमजोर नबनाएको उल्लेख गर्दै उनले एउटा फिल्मको यात्रा कठिन मोडमा पुग्दैमा आफ्नो सम्पूर्ण यात्रा समाप्त नहुने बताएका छन्।
आलोचना र निराशालाई चिर्दै आगामी कामबाटै जवाफ दिने साहस अझै जीवित रहेको उनको भनाइ छ। उनले यो आफ्नो यात्राको पूर्णविराम नभई एउटा कठिन अल्पविराम मात्रै भएको उल्लेख गरेका छन्।
फिल्मको असफलतापछि निर्देशकको यो प्रतिक्रियाले नेपाली फिल्म क्षेत्रमा प्रदर्शनपूर्वको विवाद, सामाजिक सञ्जालको प्रभाव र सिर्जनामाथिको आलोचनाबारे फेरि बहस सिर्जना गरेको छ।