काठमाडौं । विश्व राजनीतिका तीन प्रभावशाली नेता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सम्भावित त्रिपक्षीय वार्तालाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ। युक्रेन र इरान युद्ध, आणविक हतियार नियन्त्रण तथा कृत्रिम बौद्धिकता (एआई) जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दामा छलफल गर्ने उद्देश्यले तीन नेताबीच चीनको सेन्जेनमा भेटवार्ता हुने तयारी गरिएको हो।
एपेक सम्मेलनका क्रममा बिहीबार साइडलाइन वार्तामा बस्ने तयारीमा रहेका तीन नेताको सम्भावित भेटलाई सामान्य कूटनीतिक संवादभन्दा निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ। राजनीतिक तथा आर्थिक विश्लेषकहरूका अनुसार यो वार्ताले मुख्य सम्मेलनका एजेन्डालाई समेत छायामा पार्न सक्छ। यद्यपि, बैठकबाट कुनै ठूलो वा निर्णायक सम्झौता हुने सम्भावना भने न्यून रहेको विश्लेषण गरिएको छ।
ह्वाइटहाउस र क्रेमलिनले भेटवार्ताको पुष्टि गरिसकेका छन्। तर, बैठकको निश्चित एजेन्डा र कार्यढाँचा भने अझै स्पष्ट भइसकेको छैन। तीनै देशका राष्ट्रप्रमुख फरक-फरक उद्देश्यसहित वार्तामा सहभागी हुन लागेकाले सहमतिमा पुग्न सहज नहुने देखिएको छ।
कसको प्राथमिकतामा कुन मुद्दा ?
सम्भावित वार्तामा रुसी राष्ट्रपति पुटिनको प्रमुख प्राथमिकता युक्रेन युद्ध अन्त्यका लागि अनुकूल सहमति जुटाउनु हुनेछ। चार वर्षदेखि जारी युद्धलाई आफ्नो अनुकूलतामा टुंग्याउन मस्कोले कूटनीतिक प्रयास तीव्र पारिरहेको छ। तर, अमेरिका र चीन दुवै यो त्रिपक्षीय बैठकमा युक्रेन युद्धलाई मुख्य एजेन्डा बनाउन इच्छुक देखिएका छैनन्।
अमेरिकी राष्ट्रपति ट्रम्प भने आणविक हतियार नियन्त्रणसम्बन्धी नयाँ त्रिपक्षीय सम्झौता गर्न चाहन्छन्। अमेरिका र रुसबीच सन् २०१० मा भएको ‘न्यु स्टार्ट’ सम्झौता सन् २०२६ फेब्रुअरीमा समाप्त भइसकेको छ। त्यसयता दुवै देशबीच नयाँ सम्झौता हुन सकेको छैन।
ट्रम्पको चाहना चीनलाई समेत समेटेर तीन देशबीच आणविक हतियार नियन्त्रणसम्बन्धी सम्झौता गर्नु हो। तर, चीन यसमा त्यति इच्छुक देखिएको छैन। अमेरिका र रुससँग पाँच हजारभन्दा बढी आणविक वारहेड रहेको अनुमान गरिन्छ भने चीनसँग करिब पाँच सयको हाराहारीमा मात्रै आणविक वारहेड रहेको आकलन छ।
आफ्नो आणविक भण्डार तुलनात्मक रूपमा निकै सानो रहेको भन्दै चीनले अमेरिका र रुससँग समान प्रकृतिको नियन्त्रण सम्झौतामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ। पछिल्ला वर्षहरूमा चीनले भने आफ्नो आणविक क्षमता विस्तार गरिरहेको छ।
‘याल्टा-२’ को आशंका किन ?
तीन शक्तिशाली राष्ट्रका नेताबीच हुन लागेको सम्भावित भेटलाई सन् १९४५ को ऐतिहासिक ‘याल्टा सम्मेलन’सँग तुलना गर्न थालिएको छ। दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिका, बेलायत र तत्कालीन सोभियत संघका नेताहरूले अन्य देशलाई बाहिर राखेर युद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए।
त्यसबेला शक्ति राष्ट्रहरूले प्रभाव क्षेत्रको बाँडफाँट, संयुक्त राष्ट्रसंघको संरचना र सुरक्षा परिषद्का स्थायी सदस्यहरूको भिटो अधिकारलगायत विषयमा सहमति गरेका थिए। त्यसैले अहिले ट्रम्प, पुटिन र सीबीच हुन लागेको सम्भावित बैठकलाई पनि विश्वका शक्तिशाली राष्ट्रहरूले आफ्नो प्रभाव क्षेत्र पुनःनिर्धारण गर्ने अवसरका रूपमा प्रयोग गर्न सक्ने आशंका गरिएको छ।
विशेषगरी युक्रेन र युरोपेली देशहरू यसप्रति सशंकित छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र युरोपलाई बाहिर राखेर उनीहरूको भविष्यसम्बन्धी निर्णय गरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले यो बैठक प्रभाव क्षेत्र पुनःवितरण गर्ने नयाँ ‘याल्टा’ मा परिणत नहोस् भन्ने चाहना व्यक्त गरेका छन्।
तर, रुसभित्र भने यस्तो सम्भावनालाई सकारात्मक रूपमा हेरिएको छ। रुसी राष्ट्रवादी विचारक अलेक्जेन्डर डुगिनले तीन नेताबीचको भेटले विश्व राजनीतिमा रुसको महत्त्व पुनःस्थापित हुने बताएका छन्। उनका अनुसार यसले बहुध्रुवीय विश्व व्यवस्थालाई थप पुष्टि गर्नेछ।
चीन किन चाहँदैन ठूलो सम्झौता ?
यो सम्भावित वार्ताको आयोजक चीन आफैँ पनि असहज अवस्थामा देखिएको छ। एकातिर अमेरिका र रुससँगको सम्बन्ध व्यवस्थापन गर्नुपर्ने चुनौती छ भने अर्कोतिर विश्वका साना तथा विकासशील राष्ट्रहरूको पक्षमा उभिँदै आएको आफ्नो कूटनीतिक छवि जोगाउनुपर्ने दबाब छ।
चीनले लामो समयदेखि बहुध्रुवीय विश्व व्यवस्था र सबै देशसँग समानतामा आधारित सम्बन्धको वकालत गर्दै आएको छ। यस्तो अवस्थामा दुई महाशक्तिसँग बसेर विश्वव्यापी विषयमा सीमित सहमति गर्नु आफ्नै कूटनीतिक मान्यतासँग बाझिन सक्ने विश्लेषण गरिएको छ।
त्यसैले बेइजिङले यो भेटलाई ठूला सम्झौता गर्ने औपचारिक सम्मेलनभन्दा पनि सीमित र अनौपचारिक संवादका रूपमा राख्न चाहेको बताइएको छ। चिनियाँ प्राध्यापकहरूका अनुसार ट्रम्पले प्रस्ताव गरेको आणविक हतियार नियन्त्रणसम्बन्धी सम्झौता स्वीकार गर्न चीन तयार देखिँदैन।
यता रुस र चीनबीच पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार तथा सैन्य प्रविधिको आदानप्रदानमार्फत सम्बन्ध थप प्रगाढ बनेको छ। तर, युक्रेन युद्धलाई वार्ताको एजेन्डा बनाउने विषयमा भने दुवै देशको दृष्टिकोण फरक देखिएको छ।
ट्रम्पका लागि राजनीतिक सफलता खोज्ने अवसर
अमेरिकी राष्ट्रपति ट्रम्पका लागि पनि यो भेटवार्ता अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव देखाउने महत्त्वपूर्ण अवसर हुन सक्छ। घरेलु राजनीतिमा रिपब्लिकन पार्टीले संसदीय निर्वाचनमा व्यहोरेको पराजयपछि ट्रम्पमाथि दबाब बढेको विश्लेषण भइरहेका बेला विदेश नीतिमा उल्लेखनीय उपलब्धि हासिल गर्नु उनका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण हुनेछ।
विशेषगरी आणविक हतियार नियन्त्रणसम्बन्धी सम्झौता वा इरान युद्ध अन्त्यका लागि सहयोग जुटाउन सके त्यसले उनको अन्तर्राष्ट्रिय छवि र राजनीतिक विरासतलाई बलियो बनाउन सक्छ।
एसिया ग्रुप कन्सल्टेन्सीका म्यानेजिङ पार्टनर तथा अमेरिकी विदेश मन्त्रालयका पूर्व वरिष्ठ अधिकारी कुर्ट टङका अनुसार ट्रम्पले यो भ्रमणमार्फत आफ्नो नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय प्रभाव प्रदर्शन गर्ने प्रयास गर्नेछन्।
यसरी एउटै वार्तामा पुटिन युक्रेन युद्धको समाधान खोजिरहेका छन् भने ट्रम्प आणविक सम्झौता र इरान युद्धमा सफलता चाहन्छन्। चीन भने आफ्नो कूटनीतिक सन्तुलन जोगाउँदै बैठकलाई सीमित राख्न चाहन्छ। तीनै नेताका फरक प्राथमिकताबीच हुने यो सम्भावित भेटले विश्व राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले अन्तर्राष्ट्रिय चासोको केन्द्रमा छ।