काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजामा गरेको हवाई आक्रमणमा प्यालेस्टिनी विद्रोही संगठन हमासका एक वरिष्ठ सैन्य कमान्डर मारिएका छन्। हमासले रफाह ब्रिगेडका कमान्डर समीर अबु युनिस इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको हो।
दक्षिणी गाजाको खान युनिसस्थित अल-मवासी क्षेत्रमा शनिबार इजरायली सेनाले ड्रोनमार्फत आक्रमण गरेको थियो। इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै हमासका एक वरिष्ठ सैन्य कमान्डरलाई लक्षित गरी आक्रमण गरिएको जनाएका थिए।
विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएर बसेको एउटा पाललाई लक्षित गरी गरिएको उक्त आक्रमणमा अबु युनिसको मृत्यु भएको हो। घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते तथा मृतकलाई खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा पुर्याइएको थियो।
भूमध्यसागरको तटीय क्षेत्रमा पर्ने अल-मवासीमा ठूलो सङ्ख्यामा विस्थापित प्यालेस्टिनीहरू पाल टाँगेर बसिरहेका छन्। इजरायलले यस क्षेत्रलाई यसअघि मानवीय सहायता क्षेत्र घोषणा गरेको भए पनि पटक–पटक आक्रमण गर्दै आएको छ।
यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले युद्धविरामका बाबजुद पनि इजरायली आक्रमण नरोकिएको देखाएको छ। मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा मात्रै इजरायली आक्रमणमा १६ प्यालेस्टिनीको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।
सन् २०२५ अक्टोबर ११ देखि युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा एक हजार ६४३ प्यालेस्टिनीको मृत्यु भएको र पाँच हजार ९६४ जना घाइते भएको मन्त्रालयको तथ्याङ्क छ। त्यस्तै, भग्नावशेषमुनिबाट कम्तीमा ८५० जनाको शव निकालिएको जनाइएको छ।
सन् २०२३ अक्टोबरमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेयता हालसम्म कम्तीमा ७४ हजार ६९५ जनाको मृत्यु भएको र एक लाख ७६ हजार ९३ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युद्ध र विस्थापनको मार खेपिरहेका गाजावासीको अवस्था पछिल्लो समय मौसमका कारण पनि थप जटिल बनेको छ। गाजाका अधिकांश बासिन्दा पाल तथा क्षतिग्रस्त भवनमा आश्रय लिन बाध्य छन्। भारी वर्षाका कारण अस्थायी आश्रयस्थलमा पानी पसेपछि उनीहरूको दैनिक जीवन थप कष्टकर बनेको छ।
चिसोका कारण पनि गाजामा मानवीय सङ्कट बढ्दै गएको छ। शरीरको तापक्रम अत्यधिक घट्ने समस्या ९हाइपोथर्मिया० का कारण नौ महिनाको एक शिशुको मृत्यु भएपछि चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युद्धविराम लागू भएको भनिए पनि लगातार भइरहेका आक्रमण, बढ्दो मानवीय क्षति र विस्थापितहरूको दयनीय अवस्थाले गाजाको युद्धविराम कति प्रभावकारी छ भन्ने प्रश्न फेरि उठाएको छ।